– सञ्चिता घिमिरे
काठमाडाैंः यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ ।
बन्दाबन्दी जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको हो । गतबैशाख महिनासम्म झण्डै एक लाख ४० हजार र यही जेठ महिनामा एक लाखभन्दा बढी अनुमतिपत्र छपाइ भएको छ ।
आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । उहाँले भन्नुभयो, “चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको छौँ ।”
केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापित गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो ।
विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्न पर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ ।
मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताउनुभयो ।
सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ । विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ ।
हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ ।
कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि उपकरण खरिद गरेका छैनन् ।
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।