काठमाडौं । ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार साँझ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता पाटन बस्ने श्याम महर्जनलाई पक्राउ गरेको हो ।
महर्जनले बम राखेर भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको राईले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको जनाएको छ । उनले बम राख्नुको कारण र यससँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।