काठमाडौं । संविधान संशोधन सम्बन्धी प्रस्तावकाे छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कुटनीतिक वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । वार्ताको माध्यमबाट सहजै भूमि फिर्ता नहुने अवस्थामा विश्व जनसमर्थनको बाटो अपनाउनुपर्ने सुझाव उहाँले दिनुभयो । भूमि फिर्ता ल्याउनुपर्ने उद्देश्यले राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालत जान पछि हट्न नहुने उहाँको भनाई छ ।
यसै गरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान निर्माणको बेला नै नेपालको नक्सा र क्षेत्रफल राख्नुपर्ने प्रस्ताव आफ्नो पार्टीले राखेको स्मरण गर्नुभयो । उहाँले नेपालको भूमि समेटेर नक्सा नबनाउने त्यो बेलाका नापी अधिकारी, भूमि, गृह परराष्ट्रमन्त्रालयका अधिकारीहरुसँग बयान लिनुपर्ने बताउनुभयो ।
विगतका सरकारहरुले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर किन नक्सा जारी गरेनन भन्ने कुराको बयान लिनुपर्ने उहाँले बताउनुभयो । महाकाली सन्धी खारेज गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले नेपालको गुमेको सम्पूर्ण भूमि समेटेर नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।