६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन



अ+ अ-

पाल्पा। पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित हुनुभएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय अस्वस्थ हुनुहुन्थ्यो । काठमाडौँ मध्यबानेश्वरमा बस्दै आए पनि केही समय अघि अष्ट्रेलिया जानुभएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँ अत्याधिक मतका साथ विजयी हुनुभएको थियो । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत हुनुभएको थियो ।

पाल्पाका शिक्षाविद् डा रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३÷०३४ मा मन्त्री पनि बन्नुभयो ।”

रेग्मी कांग्रेसको सह–महामन्त्री समेत बन्नुभएको थियो । मन्त्री बनेपछि उहाँ विस्तार राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा ज्ञवाली बताउनुहुन्छ । उहाँको श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।

कांग्रेस पाल्पाले कांग्रेसका पूर्वसह–महामन्त्रीसमेत रहनुभएका रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले मङ्गलबार शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ  ।

स्व रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।

“नेपालको प्रजातान्त्रिक आन्दोलनका जीवित साक्षीको अवसान अवश्य पनि अपूरणीय क्षति हो । दुःखको यस घडीमा स्व रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ”, शोक विज्ञप्तिमा भनिएको छ ।