२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका पर्यटकीयस्थल सुनसान



अ+ अ-

म्याग्दी । वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताउनुभयो ।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटलहरू आजभोलि सुनसान रहेका उहाँले उल्लेख गर्नुभयो ।

“जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भन्नुभयो, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।”

बेनी–जोमसोम सडक भएर मुस्ताङ जानेआउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचारस्थलका रूपमा बेनी–४ स्थित सिङ्गा तातोपानी कुण्ड पनि सुनसान बनेको छ ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताउनुभयो ।

म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ ।

जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । रासस