२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति



अ+ अ-

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।

मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखल्बलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । मुक्तिनाथ परिसरमा छप्पनी ढुङ्गा बिछ्याउनका लागि कोटेशन ठेक्का लगाइएको थियो । मन्दिर परिसर, कुण्ड र १०८ धारातर्फ छप्पनी ढुङ्गा बिछ्याउन खिङ्गा कन्स्ट्रक्सनले जिम्मा पाएको थियो ।

कार्यालयको सीमित बजेट भएकाले पूर्ण रूपमा परिसर वरिपरि छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न हुन नसकेको प्रालिका प्रतिनिधि लाक्पाटसी गुरुङले बताउनुभयो । उहाँका अनुसार सामाजिक विकास कार्यालयमार्फत तीन हजार १४० स्क्वायर फिट छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको छ ।

छप्पनी ढुङ्गा बिछ्याएर स्तरोन्नति गरिएपछि मुक्तिनाथ आउने दर्शनार्थीलाई सहज भएको मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले उल्लेख गर्नुभयो । “मुक्तिनाथ मन्दिर अगाडि र पछाडिको १०८ धारातर्फको परिसरको असहज थियो, पुराना ढुङ्गा उप्किएका थिए”, उहाँले भन्नुभयो, “अहिले परिसरको एउटै लेबल मिलाएर नयाँ छप्पनी ढुङ्गा बिछ्याएको छ ।”

समितिले मुक्तिनाथमा दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि २०० लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको पहलमा समितिले बाह्रै महिना तातोपानी पिउने व्यवस्था गरेको सुवेदीले जानकारी दिनुभयो । यसले मुक्तिनाथको उच्च स्थानमा दर्शन गर्न आउने भक्तजनलाई लेक लाग्ने सम्भावनालाई न्यूनीकरण गर्ने उहाँको भनाइ छ ।

कर्मचारी सुवेदीले भन्नुभयो, “यस्तै, १०८ धारामा स्नान गर्ने दर्शनार्थीलाई दुर्घटनाको जोखिमबाट सुरक्षित राख्न रेलिङ निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि सात लाखभन्दा बढी आन्तरिक तथा बाह्य  पर्यटक आउने गर्छन् । मन्दिर परिसरमा तातोपानी पिउन व्यवस्था भएसँगै भक्तजनलाई सहज भएको छ । पर्यटकीय याममा पनि दर्शनार्थीलाई तातोपानीको सुविधा भएको छ ।” रासस