काठमाडाैंः गण्डकी र प्रदेश ५ सरकारले साेमबार बजेट सार्वजनिक गरेका छन् । गण्डकीकाे बजेट रु ३४ अर्ब ८४ करोड रहेकाे छ भन प्रदेश ५ काे बजेट रु ३६ अर्ब रहेकाे छ ।
गण्डकी प्रदेशको बजेट रु ३४ अर्ब ८४ करोड
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि रु ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा रु २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।
गण्डकी प्रदेशसभाको साेमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेटमध्ये चालू खर्चतर्फ रु १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार (४१.२ प्रतिशत) र प्ूँजीगत खर्चतर्फ रु १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४ प्रतिशत) बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
मन्त्री गुरुङले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका बीच बजेट ल्याइएको उल्लेख गर्दै कोरोना रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि अनुत्पादक क्षेत्रको खर्च कटौती गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु ६० करोड ४० लाख विनियोजन गरेको उल्लेख गर्दै मन्त्री गुरुङले विनियोजित बजेट कोरोना महामारीविरुद्धको लडाईंमा खर्च गरिने बताउनुभयो ।
उहाँले सबै जिल्ला अस्पतालमा आइसोलेशन वार्ड थप्ने, सघन उपचार कक्ष सञ्चालन गर्ने र अस्पतालको भौतिक पूर्वाधार विकास गर्नका लागि यो रकम खर्च हुने उहाँले बताउनुभयो । मन्त्री गुरुङले कृषि क्षेत्रको विकासका लागि सरकारले मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई रु चार करोड २६ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै मुस्ताङ, मनाङमा स्याउ उत्पादन कार्यक्रम, एक बाली एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
सरकारले कोरोना भाइरसबाट प्रभावित भएको नीजि क्षेत्रको राहतका लागि रु एक अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिदैं उहाँले ‘व्यवसाय जीवन रक्षा’ शीर्षक दिइएको उक्त कोषको रकम कोरोना महामारीका कारण ध्वस्त भएको निजी क्षेत्रको राहतका लागि खर्च गरिने बताउनुभयो ।
प्रदेश नं ५ को बजेट रु ३६ अर्बः स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा
प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि रु ३६ अर्ब ३५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ ।
बजेटले कोभिड –१९ ले प्रभावित पारेको अर्थतन्त्रलाई उकास्ने गरी स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको आब २०७७।०७८ को बजेट चालु आवको बजेटभन्दा झण्डै रु पाँच करोडले कम छ । प्रदेश सरकारले चालु आवका लागि अघिल्लो वर्ष रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो ।
प्रस्तुत बजेटको कूल विनियोजनमध्ये चालुतर्फ रू १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४.६४ प्रतिशतर पूँजीगततर्फ रू १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१.२२ प्रतिशत छ । यस्तै स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू पाँच अर्ब १४ करोड ५० हजार विनियोजन गरिएको छ ।
वित्तीय हस्तान्तरणको अंश कूल विनियोजित बजेटको १४.१४ प्रतिशत छ ।
आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्वबाट रू दुई अर्ब तीन करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रू ११ अर्ब ३४ करोड दुई लाख, रोयल्टी बाँडफाँटबाट रू ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ६३ करोड ७१ लाख र सशर्त अनुदानबाट रू पाँच अर्ब ८१ करोड ३६ लाख खर्चको स्रोत अनुमान गरिएको छ ।