सुर्खेतको गुर्भाकोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७ स्थित प्राथमिक विद्यालय श्रीवानीमा बसेका गुर्भाकोट–८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हाे ।
बिहान एक्कासी छाती दुखेको भनी खबर गरेपछि स्वास्थ्यकर्मीको टोली पुगेर जाँच गरी औषधी दिएर फर्किएको करिब डेढ घन्टापछि मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी महेशकुमार पुरीले जानकारी दिए । ‘नगरप्रमुख लगायतको टोली त्यहाँ पुग्दा मृत्यु भइसकेको थियो ।’
सूचना अधिकारी पुरीका अनुसार उनको स्वाब संकलन गरी प्रदेश अस्पतालस्थित प्रयोगशालामा पठाइएको छ । ती पुरुषको पीसीआर परीक्षणको रिपोर्ट सोमबार रातिसम्ममा आउने उनले बताए ।
भारतबाट आएर जेठ २० गतेदेखि क्वारेन्टाइनमा बसेका ती पुरुष पहिलेदेखि नै क्षयरोगबाट ग्रसित थिए । भारतमा काम गर्ने क्रममा घाइते समेत भएका उनको टाउकोमा १६ वटा टाँका लगाएको सूचना अधिकारी पुरीले जनाए ।