१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण



अ+ अ-

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो ।

कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ ।

“किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौँ ।”

वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो ।

मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ ।

विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवद्र्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औँजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा) तथा बीउ वितरण कार्यक्रमलाईसमेत अघि सारेको जनाएको छ । रासस