भोजपुर । गए राति भोजपरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने भएको छ ।
घटनास्थलबाट आज भोजपुर जिल्ला अस्पताल ल्याइएको शवलाई ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि धरान पठाउन लागिएको हो । सामूहिक हत्याको घटना भएकाले अनुसन्धानको लागि फरेन्सिक जाँच रिपोर्ट आवश्यक पर्ने भएकाले सोमबार बिहान धरान पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।
भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । चार जनाको हत्यापछि अभियुक्तले नै घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका थिए
हत्यामा संलग्न राई घाइते रहेकाले थप उपचारका लागि धरान रेफर गरिएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चार छोरा र दुई छोरी रहेका गिरी दम्पत्तिका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएका थिए । घरमा रहेका चारै जनाको हत्या भएको हो । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाले सहयोगका लागि अपिल गरेको छ ।










