काठमाण्डौ । झण्डै एक महिनापछि न्युजिल्याण्डमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार २४ दिनपछि पहिलो पटक दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित पुष्टि भएका दुई जना भर्खरै बेलायतबाट फर्किएको बताइएको छ । ती दुई व्यक्तिलाई एक मृत व्यक्तिको अन्तिम संस्कारमा बाहिरबाट आएका थिए ।
न्युजिल्याण्डले गएको हप्तामात्रै देश कोरोना भाइरसमुक्त भएको घोषणा गर्दै सबै प्रतिबन्ध हटाएको थियो ।
तर विदेशबाट न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय यात्रामा अझै पनि प्रतिबन्ध लगाइएको छ र केवल त्यहीँका नागरिक र अत्यावश्यक कर्मचारीलाई देश फर्कने अनुमति छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले देश कोरोना भाइरसमुक्त घोषणा गर्नु निकै ठूलो कुरा भएको र साथसाथै अझै सचेत हुनुपर्ने बताएकी थिइन् । उनले यो अवस्था लगातारको प्रयासबाट नै सम्भव भएको बताएकी थिइन् ।
कोरोना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डको प्रयासको चौतर्फी सराहना भइरहेको छ, न्युजिल्याण्डले महामारीको सुरुवातमा नै आफ्नो सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेको थियो ।