काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले महिला फुटबल टोलिको प्रशंसा गरेका छन् ।
एसियन कपमा छनोट हुनबाट चुकेको नेपालले आफूभन्दा धेरै बलियो उज्वेकिस्तानसँग ३–३ को बराबरी खेल्दै पेनाल्टीमा पराजित हुन पुग्यो ।
नेपाली महिला टोलिले खेलेको उक्त खेलको प्रशंसा गर्दै कप्तान किरणले नतिजा आफ्नो पक्षमा नआएपनि खेलको हरेक सेकेन्डमा खेलाडीहरूले देखाएको साहस, आत्मबल, र जुझारूपनले सम्पूर्ण नेपालीलाई गर्व गराएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘एसियन कप छनोटमा एशियाकै अब्बल राष्ट्र उज्बेकिस्तानसँगको खेलमा, नतिजा हाम्रो पक्षमा आएन । तर खेलको हरेक सेकेन्डमा खेलाडीहरूले देखाएको साहस, आत्मबल, र जुझारूपनले सम्पूर्ण नेपालीलाई गर्व गरायो ।’
यो हार नभई ठूलो अनुभव रहेको भन्दै महिला टोलिको खेल देखेर अब नेपालले जित्न कति बाँकी छैन भन्ने महसुस गराएको उनले प्रतिक्रिया दिए ।
उनले भने– ‘यो हार होइन, ठूलो अनुभव हो । तपाईंहरूलाई देखेर अब नेपालले जित्न कति बाँकी छैन भन्ने महसुस हुन्छ ।’










