काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ ।
मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा फाइनल खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुने छ ।
नेपाल साविक विजेता पनि हो । उपाधि रक्षा गर्ने लक्ष्य नेपालको छ । नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
सेमिफाइनलमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा समेटेको थियो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
प्रतियोगितामा नेपाल अपराजित छ । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमश: सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।










