२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण



अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माणकार्य आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट सुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताउनुभयो । “यो ठाउँ पहिला पाखो थियो, डोजरले सम्याएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौँ”, उहाँले भन्नुभयो, “सरकारी निकायबाट जति बजेट आउँछ त्यति बराबरको काम गर्नुपर्दा ढिलाइ भएको हो ।”

खेलमैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्लो छ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो । अन्नपूूर्ण गाउँपालिकाबाट आव २०७६/७७ देखि २०८१/८२ सम्म रु ३४ लाख र गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख गरी रु ३९ लाख विनियोजन भएको थियो ।

चालु आवमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख र रु एक लाख १८ हजार १४८ बराबरको श्रमदानमा खेलमैदानको बाहिरी भाग र स्टेज ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताउनुभयो । व्यवस्थित खेलमैदान निर्माण भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । एकतीस मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ओरेन्ज युवा क्लबका अध्यक्ष बेगबहादुर पाइजा पुनले बताउनुभयो ।

यसअघि उपल्लो दोसल्लेमा रहेको विद्यालय परिसरको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको थियो । कुनातिर ढुङ्गाको सिँढी चिनेर दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट छभने बाँकी तीनतिर तारजालीले घेराबार भएको छ ।

खेलमैदान निर्माणस्थलमा रहेको सार्वजनिक जग्गा अपुग भएपछि स्थानीय शेरप्रताप पाइजा र पावती पाइजाले १० आना जग्गा उपलब्ध गराउनुभएको थियो । पैतालीस घरपरिवार भएको दोसल्ले गाउँका युवायुवती र पौढहरू भलिबल र बास्केटबल खेल्ने गर्छन् । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले दोसल्लेसहित साविक हिस्तान गाविसका पाँचवटै टोलमा पक्की खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघि नै खेलमैदान निर्माण भएको थियो ।

“यस वडाको पाँच वटा टोलले आलोपालो गरेर एक वर्षमा एउटा मात्र खेलकुद मेला सञ्चालन गर्ने नियम बनाएका छौँ”, उहाँले भन्नुभयो, “खेलकुदको प्रवर्द्धन र पुुरानो चलनको निरन्तरताका साथै मेलालाई व्यवस्थित गर्न वडाभित्र वर्षमा एउटामात्र मेला आयोजना गर्ने नियम बनाइएको हो ।” रासस