२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कार्यशालामा प्रचण्डले भने- सैन्य गठबन्धनमा जोडिने विदेशी सहयोग स्वीकार्य छैन



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको विदेशी सहयोग स्वीकार नहुने बताएका छन् । उनले सैन्य गठबन्धनमा जोडिने अप्रियायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । 
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीद्धारा आज राजधानीमा आयोजना गरिएको संयुक्त कार्यशालामा प्रचण्डले सो कुरा बताएका हुन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता स्वीकार गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त ध्रुवीकृत भएका वेला प्रचण्डले यस्तो संकेत दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएको संयुक्त कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो सहयोग स्वीकार्य नहुने बताएका हुन् । अमेरिकाको नामै नलिइ उनले यस्तो धारणा राखेका हुन् । संविधानसँग बाझिने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ अध्यक्ष प्रचण्डले भने, नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौँ ।’

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई भिडियो कन्फ्रेसमा सम्बोधन गर्दै प्रचण्डले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताए । प्रचण्डले भारतसँगको सीमा विवादबारे संकेत गर्दै द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपालले चाहेको स्पष्ट पारेका छन् । प्रचण्डले हामी कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ उनले भने। तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुने उनको धारणा थियो । 

अध्यक्ष प्रचण्डले भौगोलिक आकार, जनसंख्या र विकासको चरणका सन्दर्भमा एकरूपता नभए पनि नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको चर्चा गरेका छन् । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा चीनसित ताइवानको शान्तिपूर्ण एकीकरणमा नेपालको समर्थन रहेको पनि बताए । प्रचण्डले भने, ‘हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपाल चीनलाई समर्थन गर्दछ ।’

नेपाल कम्युनिस्ट पार्टीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग साझा विकास तथा समृद्धि एवं शान्ति र हार्दिकताका सन्दर्भमा सहकार्य गर्न चाहेको पनि प्रचण्डले बताए । उनले बिआरआई नेपालजस्ता विकासशील मुलुकहरूको विकासका लागि अवसर भएको पनि उल्लेख गरे ।