काठमाडौं । प्रधानमन्त्रै केपी शर्मा ओलीले गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री ओलीले गायिका एलिना र समीक्षाले आफ्नो सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियानको प्रशंसा गरेका हुन् ।
दुवै गायिकाको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्र्दै प्रधानमन्त्री ओलीले साहसी छोरीहरु भनेका हुन् ।
प्रधानमन्त्री ओलीले समीक्षा र एलिनाले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो सञ्जालमा सार्वजनिक गर्ने तरिका सही लागेको बताए ।
उनले समाजमा बढ्दो गाली प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । आफू राम्रो देखिन अरूको दोष देखाएर गाली गर्ने, सधैं विरोध र सराप गर्ने परपीडक मानसिकता समाजका लागि खतरनाक भएको ओलीको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा भनेका छन्–
आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिनेु यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।










