२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउनुभएको छ ।

काठमाडौँ जिल्ला कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवद्र्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले बजेटको  प्रभावकारी कार्यान्वयन भए थुप्रै संरचनात्मक समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो ।

महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दर प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाली युवा केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका बताउनुभयो । “हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन्” उहाँले भन्नुभयो ।

एमालेको नेतृत्वमा रहेको सरकारले ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको महासचिव पोखरेलले बताउनुभयो । एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरेको उहाँको भनाइ थियो ।

पार्टीभित्र नेतृत्वको बहस गर्ने बेला नभएको उहाँले बताउनुभयो । अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको बताउनुभयो ।

बैठकमा एमाले केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेलले काठमाडौँमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताउनुभयो । काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाको सङ्गठनात्मक विस्तार कार्यलाई तीव्रताका साथ लगिएको जानकारी दिनुभयो । रासस