१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य



अ+ अ-

भोजपुर । यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भइरहेको छ ।

“स्वीस सरकारको ३० प्रतिशत, स्थानीय, प्रदेश, केन्द्र सरकारको २०–२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिँचाइ कुलो निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “सिँचाइका माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ । सिँचाइको व्यवस्था भएपछि धान, मकैलगायतका बालीसँगै किसानलाई तरकारी तथा फलफूलखेतीमा लाग्न सहयोग पुग्ने छ ।”

सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमात्र रु ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् ।

अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । यसले यहाँ सुक्खा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँ बताउनुहुन्छ । वडाले सुक्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स्वीस सरकार, तीन तहका सरकार र जनश्रमदानसहित रु २६ लाख ७० हजार लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधिक सुस्मिता लाप्चाले जानकारी दिनुभयो । यो सिँचाइ आयोजनाले यहाँका १०० रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।

यसै वर्ष वडा नं ४ मा रु २७ लाख ८५ हजार लागतमा मामालुङ माथिल्लो कुलो, वडा नं ६ मा रु १४ लाख पाँच हजार लागतान कुताङ कुलो र वडा नं २ मा रु ९१ लाख १९ हजार लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावमा समस्या भएपछि सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ कुलो निर्माणको काम अघि बढाइएको अरुण गाउँपालिका अध्यक्ष शालिराम खत्रीले जानकारी दिनुभयो । सिँचाइ व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । रासस