काठमाडौँ । पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् ।
उनले भारत र पाकिस्तानबीच युद्धविराम गराउन ट्रम्पको महत्वपूर्ण भूमिकाका लागि यो पुरस्कारको माग गरेका हुन् ।
असिम मुनीर हाल अमेरिका भ्रमणमा छन् । यहाँ ट्रम्प र मुनीरले बन्द ढोकाभित्र भेट गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले यसको लागि मुनीरलाई धन्यवाद दिए । उनले भने– ‘म पाकिस्तानलाई माया गर्छु ।’
ट्रम्पले अधिकारीहरू बिना एक्लै पाकिस्तानी सेना प्रमुखसँग कुरा गरेको यो पहिलो पटक हो । ट्रम्पले भने–मुनीरलाई भेट्न पाउँदा म सम्मानित महसुस गर्छु । उनले भारतसँग युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
ह्वाइट हाउसमा भएको यो भेटघाट गोप्य थियो । पाकिस्तानी समाचार डनका अनुसार ट्रम्पले मुनीरको प्रशंसा गर्दै उनले भारत–पाकिस्तान तनाव बढ्नबाट रोक्ने बताए । असिम मुनीर र ट्रम्पले ह्वाइट हाउसमा इरान–इजरायल द्वन्द्वको बारेमा पनि छलफल गरे ।
मुनिरले इरान–इजरायल युद्ध अन्त्य गर्ने वकालत गरे र अमेरिकासँगको आतंकवाद विरोधी साझेदारीको प्रशंसा गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध रोकेको बताएका छन् । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन वार्ताको १२ घण्टापछि ट्रम्पको यो बयान आएको हो ।









