२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाबाट फर्केर कृषि पेशामा



अ+ अ-

भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको हो ।

भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताउनुभयो । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उहाँको भनाइ छ । आफूले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

“वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताए”, कृषक थापाले भन्नुभयो, “त्यहाँ मेरो कमाइ राम्रै थियो, तर आफ्नै ठाउँमा कृषिमा उदाहरणीय बन्ने सोचले अहिले कृषि व्यवसायमा जुटेको छु ।” खुर्सानीखेतीबाट वार्षिक रु आठदेखि रु १० लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको उहाँको भनाइ छ ।

गत वर्षको झै खुर्सानीले मूल्य पाएको खण्डमा लक्ष्यअनुसारको आम्दानी लिन समस्या नरहेको उहाँको भनाइ छ । युवामा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने सावित गर्न स्वदेश फर्केर कृषि कर्म रोजेको उहाँले बताउनुभयो ।

“हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौँ”, उहाँले भन्नुभयो, “विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।” व्यवसायमा लाग्ने कृषकलाई अनुदानमा रकमभन्दा पनि आधुनिक औजार तथा उपकरणमा राज्यले सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । युवा विदेशिएको कारण गाउँघरका धेरै खेतीयोग्य जमिन बाझिँदै गएकाले यसको सदुपयोगमा राज्यले ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो

आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उहाँले सुनाउनुभयो । राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“स्वेदशमा उद्यम गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “पहुँचको भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले वास्तविक किसान मारमा परेको अवस्था पनि छ, यसमा सरोकारवाला पक्षले ध्यान दिन जरुरी देख्छु ।”

गत वर्ष परीक्षणको रुपमा लगाएको दुई हजार बोट खुर्सानीबाट रु तीन लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि यस वर्ष १० हजार बिरुवा रोपेको कृषक थापाको भनाइ छ । आगामी वर्ष यसलाई थप विस्तार गरेर ४० देखि ५० हजार बिरुवा विस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो । कोरियामा त्यहाँको मलिकले बस्नु अनुरोध गर्दा पनि आफ्नै ठाउँमा कृषि कर्म गर्ने अठोटका साथ नेपाल फर्किएको उहाँको भनाइ छ ।