• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

युवालाई रोजगार बनाउन ‘घुम्ती कोष’



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगारी उपलब्ध गराउन घुम्ती कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आठौँ गाउँसभाले पारित गरेको बजेटमा युवा स्वरोजगार कोष स्थापनाका लागि बजेटको व्यवस्था गरेको हो । कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन रु ३० लाखको घुम्ति कोष खडा गर्ने तयारी गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । उनका अनुसार कृषि व्यवसाय प्रर्वद्धन कोष स्थापना तथा सञ्चालनका लागि समेत रु २० लाख विनियोजन भएको छ ।  “रोजगारी गुमाएर विदेश र बजारबाट गाउँमा फर्किएका युवालाई कृषि, पशुपालन, जडिबुटी, फलफुल खेती र स्थानीय स्रोतमा आधारित लघुउद्यम सञ्चालन गर्न युवा स्वरोजगार र कृषि व्यवसाय प्रवद्र्धन कोष स्थापना गरेका हौँ” अध्यक्ष पुनले भन्नुभयो, “कार्यविधि बनाएर युवालाई व्यवसाय सञ्चालन गर्न घुम्ति कोष परिचालन गर्छौँ ।”

धवलागिरिले कोभिड–१९ रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिँदै रु ४२ करोड रु ५१ लाख बजेट विनियोजन गरेको छ । तलब भत्ता, प्रशासनिक, सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानसहित चालू शीर्षकमा रु २९ करोड ८६ लाख ३० हजार र विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा रु १२ करोड ६५ लाख ५२ हजार ५८० बजेट पारित भएको हो ।  कर्मचारी, पदाधीकारीको तलब भत्ता र प्रशासनिक खर्च चालूअन्तर्गत रु छ करोड ८४ लाख बजेट बिनियोजन भएको छ । आन्तरिक आम्दानी रु २६ लाख हुने अनुमान गरेको गाउँपालिकाको बजेटको मुख्य स्रोत सङ्घीय र प्रदेश सरकारको अनुदान तथा चालू आवमा खर्च हुन नसक्ने बजेट हो । 

कोरोना रोकथामका लागि निःशुल्क क्वारेन्टिन सञ्चालन गर्ने नीतिसहित विपद् व्यवस्थापन कोषमा रु ७५ लाख विनियोजन गरेको छ । पुँजीगत शीर्षकको बजेटबाट १९५ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सडक, भवन, सिँचाइ, खानेपानी, ढल निकासलगायत पूर्वाधार योजनामा सबैभन्दा बढी रु तीन करोड ६४ लाख ८६ हजार ५८० विनियोजन भएको छ । पर्यटन गुरुयोजना निर्माणमा रु १० लाख विनियोजन गरेको छ । 

आवासविहीन जनतासँग वडाध्यक्ष, सुनौला हजार दिनका आमासँग अध्यक्ष र उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, खेलकुद सामग्री वितरण र घुम्ति शिविरमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, धारापानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने बजेट विनियोजन गरेको छ ।  व्यावसायिक जडिबुटी खेती विस्तार गर्ने, सडक, खानेपानी, सिँचाइ र विद्युत् विस्तारका साथै स्तरोन्नितीमा जोड दिएको छ । कोरोनाका कहरका बिच जनतालाई रोग र भोगबाट गोजाएर विकासका गतिविधि र सेवाप्रवाहलाई निरन्तरता दिने नीति लिएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । आगामी आर्थिक वर्षमा साउनबाटै योजना सर्वेक्षण, लगत तयार, सम्झौता गरी कार्यान्वयन प्रक्रियामा लगेर असारे विकासको समस्यालाई निरुत्साहित गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । 

ताकम र बगरमा विद्युत् विस्तार, लुलाङमा लघु जलविद्युत् परियोजना पुनःनिर्माण, मल्कवाङ र मराङको राम्चेसम्म सडक पुग्नुलाई यो वर्षको मुख्य उपलब्धि मानिएको कार्यपालिकाका प्रवक्ता झक छन्त्यालले बताउनुभयो । लुलाङको वडा कार्यालय, मुना स्वास्थ्य चौकी र हेम नमूना आवासीय माविको भवन तथा मालिका र धवलागिरि गाउँपालिका जोड्ने भारवाङखोला, मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । धवलागिरिको ताकम र मालिकाको देवीस्थान जोड्ने सडक, गुर्जादेखि मुदी जोड्ने पदमार्ग निर्माण भएको छ । कोरोनाको जोखिम, लकडाउन र हिमपातका बावजुद दुर्गम र विकट क्षेत्रका उपभोक्ता समितिले ८० प्रतिशतभन्दा बढी काम सकेका गाउँपालिकाले जनाएको छ ।