१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको पहलः सलह नियन्त्रण गर्न अन्तर्राष्ट्रिय निकाय गुहार्ने



अ+ अ-

काठमाडौं । सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ । विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । ‘भारतको राजस्थानमा अझै ठूलो बथान देखिँदैछ’, मन्त्री भुसालले भने, ‘हामीले नेपालमा नियन्त्रण गरे पनि फेरी उताबाट सर्न सक्ने जोखिम छ ।

त्यही भएर उताको अवस्थामाथि निगरानी राखेर नेपालमा प्रकोप नियन्त्रण गर्ने सवालमा एफएओ र भारतको कृषि मन्त्रालयलाई गुहारेर सहकार्य गर्ने निष्कर्ष निकालेका छौं ।’ उनका अनुसार एफएओ र भारतको कृषि मन्त्रालयको सहकार्यमा यो फट्यांग्राको विषयमा रुट ट्रयाकिङ गरिनेछ । त्यसकै आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न आवश्यक उपाय परिचालन गरिने भएको छ । बैठकमा गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, विज्ञ, वैज्ञानिकलगायत सहभागी थिए । मन्त्रालयले नेपालमा देखापरेको सलहको बथान निकै सानो रहेकाले यसले ठूलो परिमाणमा क्षति पु¥याउन नसक्ने दाबी गरेको छ । किसानलाई नआत्तिनसमेत मन्त्रालयले आग्रह गरेको छ । भुसालले सलहले प्रभाव पारेको क्षेत्रको विषयमा जानकारी लिन किसानका लागि हटलाइनको व्यवस्था गरिएको बताए । यसका लागि मन्त्रालयले एउटा टेलिफोन नम्बरको व्यवस्थापन गरेर सोमबार सार्वजनिक गर्ने जनाएको छ । बैठकमा मन्त्री भुसालले गृहअन्तर्गतको समितिसँग सहकार्य गरेर आवश्यक परेको अवस्थामा सलहको प्रकोप नियन्त्रण गर्न दमकल, ट्याक्ट्रर, ड्रोनसहित सुरक्षाकर्मीसमेत परिचालन गर्ने विषयमा छलफल भएको छ ।

सलहको प्रकोप नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्थापन गर्न मन्त्री भुसालले विभागीय सचिव राजेन्द्र भारीलाई जिम्मेवारी सुम्पेका छन् । मन्त्रालयले पत्रकार सम्मेलन गरी मकवानपुर र चितवनमा सलहको प्रकोप बढी देखापर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले मकवानपुर र चितवनमा अन्य स्थानभन्दा केही ठूलो बथान देखिएकाले दुवै स्थानमा बढी क्षति हुन सक्ने जानकारी दिए । मन्त्रालयले बुटवलको सैनामैनामा मकैबालीमा गरेको सामान्य क्षतिबाहेक अन्य स्थानमा क्षति पुर्याएको यकिन विवरण नआएको बताएको छ । शनिबार बिहान रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुरमा प्रवेश गरेको सलहको बथान आइतबार साँझसम्म सिन्धुली, धादिङ, चितवन, काभ्रे, नवलपरासी, स्याङ्जा, मकवानपुर, लमजुङ, पोखरा, उदयपुर, कपिलवस्तु, पाल्पालगायतका स्थानमा तितरवितर भएर फैलिएको छ । विज्ञका अनुसार पूर्वबाट पश्चिमतर्फ हावाको वेग चलेको अवस्थामा यो फट्यांग्राको बथान दाङदेखि बाँकेसम्म फैलिन सक्छ ।

कृषि विभागका पूर्वमहानिर्देशक तथा बाली संरक्षणविज्ञ डा. डिल्लीराम शर्माले यस्तो जानकारी दिए । उनका अनुसार नेपालमा प्रवेश गरेको सलह बच्चा र वयस्क दुवै प्रकारको गरी करिब ४ लाखको समूहमा छ । ‘फुल पार्न सक्ने वातावरण नपाएको अवस्थामा वयस्क सलह दुई सातामै मर्ने र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने भएकाले महिना दिनसम्म बितण्डा मच्चाउन सक्छ’, शर्माले भने । अन्नपुर्णपोष्ट दैनिक