१३ श्रावण २०८३, बुधबार
,
Latest
महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोडाघोडी तालमा रहेको झार हटाइँदै



अ+ अ-

घोडाघोडी । विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ । नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ ।

जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो ताल मिचाहा प्रजातिले ढाक्दै गएपछि आजदेखि हटाउन थालिएको हो । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर बेसरम झार हटाउन सुरु गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

“प्रदेश सरकारको रु पाँच लाख बजेटमार्फत मिचाहा प्रजातिको झार हटाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । घोडाघोडी तालको उत्तरी भाग बेसरमले ढाक्दै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको छ । “तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया तथा पूर्वी क्षेत्रमा पनि तालको कुनाकुनामा बेसरमले ढाकेर ताल देखिँदैन । तालमा बेसरमसँगै जलकुम्भी, लहरे वनमारालगायत मिचाहा झारहरू प्रकोप बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

यी मिचाहा झारहरूले पानीको सतहलाई पूर्णरूपमा ढाकेर सूर्यको प्रकाशलाई भित्र पस्न दिँदैनन्, जसले गर्दा पानीभित्रका रैथाने वनस्पति मर्न थालेका वन अधिकृत कँडेलले बताउनुभयो । “यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ, जसले माछा र अन्य जलचरको जीवन सङ्कटमा पर्छन् । चराहरूले आहारा खोज्ने र बस्ने खुला पानीको सतह समाप्त हुँदा उनीहरूको बासस्थान समेत नष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

मिचाहा झारलाई समयमा नियन्त्रण गरिएन भने ताल र यहाँको सिमसार, जलिय जैविक विविधता खतरामा पर्ने चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा पनि डिभिजन वन कार्यालय पहलमानपुरमार्फत दुई दशमलव पाँच हेक्टर क्षेत्रफलको बेसरम हटाइएको थियो । यसपटक दुई दशमलव आठ हेक्टर क्षेत्रफलको बेसरम हटाइने अधिकृत कँडेलले बताउनुभयो ।

हत्केला आकारमा फैलिएको घोडाघोडी ताल चराहरूको महत्त्वपूर्ण वासस्थानको रूपमा मानिन्छ । यहाँ विश्वव्यापी रूपमा खतरामा रहेका राजलाहाँचे, राज धनेस, माछाकुल, सेतो गिद्ध, डँगर गिद्ध, सानो खैरो गिद्ध, र भुडिफोर गरुड पाइन्छन् ।

तीन प्रजातिका चरा नाँदुन हाँस, हरिहाँस, बगाले सिम कुखुराले नेपालको घोडाघोडी क्षेत्रमा मात्रै प्रजनन गर्ने गर्दछन् । यसका साथै अजिङ्गर ,सालक, ओत, कछुवा, चितुवा, लोखर्के, खरायो, मुसा, न्याउरी मुसा, स्याल, मलसाँप्रो, बाँदर, लङ्गुर, बँदेल, रतुवा, चित्तल, निल गाई, गोही, सुन गोहोरो, छेपारालगायत विभिन्न प्रजातिहरूको महत्त्वपूर्ण बासस्थानका रूपमा यो क्षेत्र पर्दछ ।

चराहरूको बासस्थान रहेको घोडाघोडीमा हाल तीन सय ८० प्रजातिका चराहरू पाइन्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थान रहेकाले यस क्षेत्रलाई विसं २०७८ फागुन २७ गते नेपालको पहिलो पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) घोषणा गरिएको थियो । रासस