१५ असार २०८३, सोमबार
,
Latest
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदी व्यवसायमा निर्भर मजदूर सङ्कटमा



अ+ अ-

कैलाली । सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन् । लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय  खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार जति मजदूर सङ्कटमा परेका हुन् । उसो त मजदूर मात्र होइन, स्वयम् सुनचाँदी व्यवसाय पनि धरापमा छ ।

 सरकारले यही असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोवार शून्य जस्तै छ । दुई हप्तासम्म ग्राहक आएका छैनन् । पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ । सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न  सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन् । 

गत चैत १० गते सुनको मूल्य प्रतितोला रु ७६ हजार थियो आज रु ९२ हजार पाँच सय छ । कारोवार नभएपछि व्यवसायी बैङ्कको ऋणको चिन्तामा छन् भने मजदूर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन् । ‘‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन’’, सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष देवहादुर सुनारले भन्नुभयो, ‘‘चार सय व्यवसायी र एक हजार मजदूर सङ्कटमा परेको अवस्था छ ।’’ 

उहाँले काठमाडौँबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको  बताउनुभयो । ‘‘सुनचाँदी व्यवसाय सङ्कटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ । मजदूर भोकभोकै छन्’’, अध्यक्ष सुनारले भन्नुभयो, ‘‘ यति बेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ ।’’
  
कैलालीमा करीब चार सय सुनचाँदी व्यवसायी छन् । लकडाउनअघि टीकापुर बजारमा मात्र हप्तामा दुई किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ । यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो । लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ । ‘‘समस्या पनि थियो, मूल्य पनि रामै्र थियो तर व्यापारीले सुन किन्दैनन्’’, टीकापुर–५ की झरना रिमालले भन्नुभयो, ‘‘सुन बिक्री गरेर गर्जो टार्ने भनेर आएँ । बिक्री नगरी फर्कन थाल्दै छु । सुन किन्न व्यापारीले पैसा छैन भन्छन् ।’’ 

पेशा सङ्कटमा परेपछि कतिपय मजदूरले पेशा परिवर्तन गर्न थालेका छन् । उनीहरु लकडाउन खुलेपछि नयाँ पेशा गर्ने तयारीमा छन् । लम्कीका सुनचाँदी व्यवसायी रमेश विकले व्यवसाय नचल्ने भएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताउनुभयो । ‘‘सुनचाँदी पसल खोल्दा लागेको ऋण थपिँदै गएको छ । नयाँ वर्षदेखि असारसम्म राम्रो कारोवार हुन्थ्यो, लकडाउनले सबै ठप्प भयो’’, विकले भन्नुभयो, ‘‘यसरी चलाउन सकिएला जस्तो लागेन । अब अर्को व्यवसाय गर्छु ।’’