१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको अन्त्य : राजनीतिक संकटको निम्तो !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विहीबार बिहानै मन्त्रिपरिषदको बैठक डाक्न लगाउँदा धेरै मन्त्रीहरुलाई आजको बैठकको बारेमा आशंका नै बढी थियो । हिजोदेखि नै एक्लाएक्लै तथा समूहमै गरेर प्रधानमन्त्रीले सबै मन्त्रीसँग सुझाव लिएका थिए । त्यसैले आजको बैठकका एजेण्डा भन्दा पनि अबको परिस्थिति कसरी अघि बढ्ला भन्नेमा के छन् भन्ने मन्त्रीहरुलाई पनि थाहा थिएन । 

हुन पनि त्यस्तै भयो । आज मन्त्रिपरिषदको पछिल्लो बैठक सुरु हुनासाथ मन्त्रीहरु बडो दोधारमा परे । किनभने प्रधानमन्त्रीले अकस्मात चालू संसद अधिवेशनको अन्त्य गर्ने प्रस्ताव गरे । त्यसपछि सबै मन्त्री ट्वाँ परेको केही मन्त्रीले आफ्नो अनुभव सुनाएका छन् । पछिल्लो समयमा प्रधानमन्त्रीले पार्टी संकटको सामना गरिरहेका छन् । उनी पछिल्लो स्थायी समिति बैठकमा पनि गएका छैनन् । त्यसैले मन्त्रिपरिषद बैठक बोलाएपछि अनेक आशंका भइरहेका बेला संसद अधिवेशन अन्त्य गर्ने एकमात्र एजेण्डा पेश भयो र बिना छलफल पारित पनि भयो । 

गत मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठक चल्दै थियो । प्रधानमन्त्री भने त्यसको अघि राष्ट्रपति भेट्न शीतल निवास पुगे । त्यो मात्र होइन कि उनले त्यसै दिन साँझ पनि त्यहाँ पुगे । यसबाट मानिसका मनमा धेरै आशंकाहरु उब्जिए । उनले त्यसपछि आजको मन्त्रिपरिषदको बैठकअघि पनि राष्ट्रपति भेट्न नै पुगेका थिए । त्यसपछि पनि पार्टीका नेताहरुका मनमा अनेकन आशंकाहरु उब्जिएकै हुन् । हुनपनि त्यस्तै भयो । एक मन्त्रीले त भने– प्रधानमन्त्रीको हाउभाउ हेर्दा लाग्थ्यो उहाँले संसद नै विघटन गर्दै हुनुहुन्छ, तर त्यस्तो हुन भने पाएन ।   
 
आज पनि मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएपछि झन् धेरै आशंका उत्पन्न भएका थिए । आज ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाईएको थियो र त्यही बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए नेताहरु । त्यसैले नेताहरु पनि प्रधानमन्त्री शीतल निवासमा किन गए भनेर बडो आश्चर्यमा परेका थिए । उनीहरु एकापसमा कानेखुसी गर्दागर्दै प्रधानमन्त्री फर्किए र मन्त्रिपरिषदको बैठक बस्यो । त्यसको एकै छिनमा त मन्त्रिपरिषदले चालू संसद अधिबेसन अन्त्य गरेको खबर आयो मिडियामा । यति ‘बोल्ड डिसीजन’ पनि पार्टीका नेताहरुलाई थाहै छैन, उनले आफैले गरेका छन् । 

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमा संसदमा खासै बिजनेस नभएकाले अधिवेशन अन्त गर्ने प्रस्ताव राखे र मन्त्रीहरुले छलफलै गर्न नपाइ यो पारित गर्न लगाए । आज साँझ ५ बजे यो प्रस्ताव राष्ट्रपति समक्ष लगिने छ र राष्ट्रपतिले चालू वर्षे अधिवेशनको अन्त्यको घोषणा गर्नेछिन् । प्रधानमन्त्री एकाएक यो निचोडमा किन पुगे भन्नेमा पार्टीभित्र र बाहिरबाट प्रश्न उठिरहेको छ । संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले कुनै पनि बेला आफू अनुकुल अध्यादेश त ल्याउन खोजेका छैनन् भन्ने उनीहरुको आशंका छ । त्यो सूचनालगत्तै प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु नेकपा स्थायी कमिटी बैठकबाट बाहिर निस्केर अलग्गै छलफल गरेका थिए । उनीहरुले संसदलाई छलेर धानमन्त्रीले कुनै पनि कदम चाल्न सक्ने आशंका गरेका छन् । 
प्रधानमन्त्रीले किन गरे संसदको अन्त्य ? 

प्रधानमन्त्री ओलीको राजीनामा पार्टीमा मागिसकिएको छ । तर उनी राजीनामा दिने पक्षमा छैनन् । यसो भएपछि माधव प्रचण्डपक्षीय नेताहरुले प्रधानमन्त्रीका विरुद्ध संसदमा अविश्वासका प्रस्ताव ल्याउने तयारी गरिरहेका थिए । यो कुरा प्रधानमन्त्रीलाई स्पष्टै थाहा थियो । त्यसैले तत्कालका लागि यो डरबाट बच्न प्रधानमन्त्रीले संसद बैठकको अन्त्य गर्न भ्याए । यसको मतलब अव उनका विरुद्ध अविश्वास प्रस्ताव नै आउँदैन भन्ने त होइन किनभने संसदका एक चौथाई सदस्यले बैठक बोलाउन माग गर्दा त आखिर बैठक बोलाउन परिहाल्छ । तर पनि त्यसका लागि केही समय लाग्छ । भनिन्छ राजनीतिमा रात गए अग्राख पलाउँछ । प्रधानमन्त्री चौतर्फ घेराबन्दीमा परिसकेकोले उनलाई अग्राख पलाउनका लागि केही रातमात्र भए पनि खेल्ने समय हुनसक्छ भन्ने उनको बुझाइ हुनसक्छ । 

यो समयमा कुनै निकास नै निस्किएन भने, आखिर प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्तावको तयारी नै भयो भने पनि उनले संसद बिघटन गर्न पनि सक्छन् । यसका लागि प्रधानमन्त्रीको निर्णय अनुकुलको राष्ट्रपति चाहिन्छ, त्यो सुविधा प्रधानमन्त्रीसँग मजबुद नै छ । संसद बिघटनको प्रस्ताव प्रधानमन्त्रीले चढाएपछि राष्ट्रपतिबाट त्यो स्वीकृत भइहाल्ने अवस्था देखिँदैछ । त्यसैले पनि यी यावत कानूनी तथा संवैधानिक जटिलताहरुका बारेमा प्रधानमन्त्रीले केही दिनयता देखि पटक पटक राष्ट्रपतिसमक्ष परामर्श तथा सल्लाह गरेका हुनसक्छन् । तर त्यसो हुँदा फेरि यो मुद्दा सर्वाेच्च अदालतसम्म पनि पुग्न सक्छ । त्यसपछि यसअघिको जस्तो भदौ १२ या गिरिजाप्रसाद कोइरालाको संसद विघटनमध्ये कुन आकर्षित होला भन्न सकिँदैन ।

प्रधानमन्त्रीलाई पार्टीको अध्यक्षबाट हटाउन सक्ने र मिल्ने प्रावधान पार्टीमा अहिले छैन । त्यसका लागि महाधिवेशन नै चाहिन्छ । त्यसैले पनि प्रधानमन्त्रीमा नै उनी बसिराख्दा सरकार र पार्टी कब्जा गर्न सजिलो नै छ । अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष भनिएको भए पनि त्यस्तो अधिकार देखिन्न । त्यसैले पनि सबै नेता लागेर स्थायी समितिबाट राजीनामा मागे पनि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट उनले राजीनामा दिनसक्ने अवस्था देखिन्न । प्रधानमन्त्रीको आजको यो कदमसँग अब पार्टीभित्र समन्वय हुने अवस्था देखिँदैन । एकले अर्काेलाई सक्ने र आपसका निर्णय नमान्ने दिशामा ढिट भएर अघि बढ्ने लक्षणहरु अब पार्टीभित्र देखिँदैछन् । यो अडानले त्यस पार्टीमा मात्र होइन कि देशमा राजनीतिक संकट नै आइलाग्ने देखिन्छ । एकातिर देशमा नागरिकता बिधेयक संसदमा प्रवेशउन्मुख छ । भारतसँगको सम्बन्धमा दरार उत्पन्न भएकै छ । एमसिसि आयोजनाको टुंगो पनि लागेको छैन । यी यस्ता यावत समस्याहरुका बाबजुद थपिएको यो राजनीतिक संकटले दुर्घटना त निम्त्याउँदैन भन्ने त्रास फैलिन थालेको छ ।