३१ जेष्ठ २०८२, शनिबार
,
Latest
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ न्यायाधीशमाथि भएको अभद्र व्यवहारप्रति कानुन समाजको आपत्ति बोस्टनको उही हलमा सात वर्षपछि नेपथ्य टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै पाउद्वारमा खेलमैदान निर्माण कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै नेवा: राष्ट्रिय मुक्तिमोर्चा नेपा: को गोरखा अध्यक्षमा पुन: श्रेष्ठ चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भेट गर्नुहुँदै काठमाडौँ महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा(एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासी । प्रम ओलीसँगको भेटमा ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् । तस्बिर सौजयन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् ।

काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा गरेको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र देशकै सबैभन्दा ठूलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गर्नुभएकामा स्थानीय बासिन्दाकोतर्फबाट धन्यवाद पनि दिएको थियो ।

सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी सञ्चय कोषले विसं २०४४ मा दुईतले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रुपले २४सै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा ठूलो क्षति भएपछि स्थानीयवासीको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो ।

त्यसपछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सा पासको प्रक्रिया नै पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्नेगरी सम्झौता भएको थियो । अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभावी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुुलाउन स्रोतसाधनको अभाव भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनःनिर्माणपूूर्व राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थानीय बासिन्दासँगको छलफलमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रुपले महत्वपूर्ण सुन्धारामा प्राकृतिक रुपले नै पानी आउने र निकास हुने तथा भूकम्पमा भत्केर बाँकी रहेको धरहराको भागलाई संरक्षण गरेर राख्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएकामा त्यसको पालना नभएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष राखेका छन् ।

प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौँ महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड दिनुुभयो ।