२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा युद्धबिराम हुँदै, मंसिर ४ को खोजी, सहमतिका लागि तेस्राे तहका नेता सक्रिय



अ+ अ-

काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपा भित्र युद्धबिरामको तयारी भै रहेको छ । तत्काल आरोप प्रत्यारोप रोकेर मंसीर ४ गते भएको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने तर्फ सकारात्मक वातावरण बन्दै गएको जनाइएको छ । 

यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुग्नु भएको छ ।  सरकार र पार्टीबीच चरम विवाद भएपछि  २०७६ मंसीर ४ गते दुई अध्यक्ष ओली र दाहालबीच लिखित सहमति गरी समस्यालाई थामथुम पारिएको थियो । जसमा ५ वर्ष ओलीले सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकार सहित पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । 

यही सहमतिलाई फेरि अन्तिम पटक भन्दै हाल देखिएको समस्या थामथुम पार्ने प्रयास भएको हो । योसँगै मन्त्रीमण्डल, केही मुख्यमन्त्री र सचिवालय परिवर्तन गरी नेता माधव नेपाल र बामदेव गौतमको चित्त बुझाउने प्रयास भै रहेको छ । संगठनात्मक रुपमा कमजोर रहेको झलनाथ खनालका बारेमा भने नेताहरुले खासै महत्व दिएका छैनन् । 

पार्टीभित्र तेस्राे तहका नेताहरुले पनि समस्यामा हस्तक्षेप गर्न थालेपछि शीर्ष तह दबाबमा पर्न थालेको हाे । यसैक्रममा  कृषिमन्त्री घनश्याम भुसालको निवासमा  नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, मणि थापा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईले नेतृत्वलाई मिल्नका लागि दबाब दिन छलफल गरेका छन् ।