२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः १८ वर्षपछि आरसीबी र विराटको सपना साकार, अभागी पञ्जाब



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जितेको छ । १८ सिजनको पर्खाइ सकिएको छ । अन्ततः विराट कोहली पनि च्याम्पियन बनेका छन् ।

अर्कोतर्फ पन्जाब किंग्स भने दोस्रोपटक उपविजेता मै सिमित रह्यो । यसअघि उसले २०१४ मा फाइनल खेलेको थियो । जहाँ कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै उसले उपविजेता मै चित्त बुझाएको थियो ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनलमा आरसीबीले पञ्जाब लाई ६ रनले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनायो ।

जवाफमा पञ्जाबले सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । आरसीबी आईपीएल च्याम्पियन बन्ने आठौं टोली हो । यसअघि राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स, डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद टोली च्याम्पियन बनिसकेका छन् ।

बैंगलोरको इनिङ्स
पहिले ब्याटिङ गर्दै बैंगलोरले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरको सुरुवात खराब रह्यो । फिल साल्ट नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १६ रन बनाएर आउट भए । उनलाई काइल जेमिसनले आउट गरे ।

यसपछि विराट कोहलीले मयंक अग्रवालसँग इनिङ सम्हाल्ने प्रयास गरे, तर मयंक ठूला सट खेल्दै आउट भए । उनी १८ बलमा दुई चौका र एक छक्काको मद्दतले २४ रन बनाएर आउट भए । यसपछि रजत पाटीदार १६ बलमा २६ रन बनाएर पवेलियन गए ।

विराटले लियाम लिभिङस्टोनसँग ३६ रनको साझेदारी गरे । ३५ बलमा तीन चौकाको मद्दतले ४३ रन बनाएपछि विराट अजमतुल्लाह ओमरजाइबाट आउट भए । जितेश शर्माले ज्वलन्त इनिङ खेले, तर ठूलो शट प्रहार गर्ने प्रयास गर्दा उनी विजय कुमारको बलमा बोल्ड भए ।

जितेशले १० बलमा दुई चौका र दुई छक्काको मद्दतले २४ रन बनाए । अर्शदीप सिंहले अन्तिम ओभरमा तीन विकेट लिए । उनले २० औं ओभरको दोस्रो बलमा रोमारियो शेफर्ड (१७ रन), चौथो बलमा कृणाल पाण्ड्या (४ रन) र भुवनेश्वर कुमार (१ रन) को विकेट लिए ।

पञ्जाबका लागि अर्शदीप र जेमिसनले तीन–तीन विकेट लिए भने अज्मतुल्लाह उमरजाई, विजयकुमार विशाख र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

पञ्जाबको इनिङ्स
१९१ रनको लक्ष्य पछ्याउँदै पञ्जाबको टोलीले राम्रो सुरुवात गरेको थियो । प्रियांश आर्य र प्रभसिमरन सिंहले ४३ रनको साझेदारी गरे । २४ रन बनाएपछि प्रियांश जोस हेजलवुडको बलमा आउट भए । त्यसपछि प्रभसिमरन सिंह २२ बलमा २६ रन बनाएपछि आउट भए ।

फाइनलमा श्रेयस अय्यरको ब्याटले काम गरेन । उनी एक रन बनाएर आउट भए । जोश इंग्लिसले राम्रो ब्याटिङ गरे, तर २३ बलमा एक चौका र चार छक्काको मद्दतले ३९ रन बनाएर पभेलियन फर्किए ।

नेहल बढेरा १५ रन बनाएर र मार्कस स्टोइनिस ६ रन बनाएर आउट भए । अज्मतुल्लाह ओमरजाईले केवल एक रन मात्र बनाउन सके । शशांक सिंहले ३० बलमा तीन चौका र छ छक्काको मद्दतले ६१ रन बनाए, तर त्यो जितका लागि पर्याप्त भएन ।

बैंगलोरका लागि भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले दुई दुई विकेट लिए भने यश दयाल, जोश हेजलवुड र रोमारियो शेफर्डले एक–एक विकेट लिए ।