धनगढी । बलात्कारको घटना ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई रहेका छन् ।
१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरी कार्यालय सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए ।
१५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाई गरेको भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको समेत प्रहरीले जनाएको छ ।
यता, प्रहरीले भने आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने अनुमान गरेको छ । घटनाबारे थप अनुसनधान भइरहेको छ ।











