काठमाडौँ । नेपाली फुटबलको स्वर्णिम युगको कथासँगै घटनाक्रम र अवस्था समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण भएको छ ।
साढे दुई दश नेपाली खेलकुद कलम चलाउँदै आएका पत्रकार हिमेशरत्न वज्राचार्यले लेख्नुभएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आईतवार एक विशेष कार्यक्रममार्फत लोकार्पण गरिएको हो ।
नेपाली फुटबलका लिजेन्ड एवं स्वर्णयुगको महत्वपूर्ण सदस्य राजुकाजी शाक्यले उक्त पुस्कत विमोचन गरे ।
नेपालले सन् १९८४ र १९९३ मा दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । यो नेपाली फुटबलबारे लेखिएको पहिलो पुस्तक हो । जहाँ नेपाली फुटबलको सफलताका कथा पनि समेटिएको छ ।
लोकार्पण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्ष निरञ्जन अधिकारी, पूर्वअध्यक्ष अजय फुयाल, १३ औं सागमा स्वर्ण विजेता एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, पत्रकार युवराज घिमिरे, पुस्तक प्रकाशक बुकहिलका प्रतिनिधि र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिलगायत उपस्थिति थिए ।
एन्फाका महासचिव किरण राईले यो पुस्तक पढेपछि पहिले र अहिलेको फुटबलको अन्तर बुझेको बताए । पुस्तक पढेपछि नेपाली फुटबलको धेरै कुरा आफूलाई थाहा नभएको महशुस भएको र त्यसैले पनि नयाँ, पुराना खेलाडी मात्र होइन सबैले फुटबलको इतिहास बुझ्न स्वर्णकथा नेपाली फुटबलको पढ्नै पर्ने राईको भनाइ छ ।
नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुई पटक स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ । नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् ।
नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको उल्लेख गरे ।
नेपाली खेलकुदकी गोल्डेन गर्ल ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले खेलकदमा अध्ययन र साहित्य पनि चाहिने र यस पुस्तकले यसको शुरुवात गरेको बताइन् ।
उनले सय वर्षअघिदेखिको इतिहासलाई सङ्ग्रह गरेर पुस्तकको आकार दिने हिमेशरत्न वज्राचार्य खेलसाहित्यको रत्न नै रहेको बताइन् ।
सन्तोषीले यस पुस्तककै प्रेरणा लिएर भविष्यमा आफूले आफ्नो खेल संस्करण लेख्ने बताइन् ।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले नेपाल खेलकुदमा लेखेका पुस्तक खासै नभेटिको अवस्थामा फुटबल मन पराउनेहरुका लागि यो दस्तावेजसहितको सुन्दर उपहार भएको बताए ।
एनएसजेएफका पूर्वअध्यक्ष अजय फुयालले नेपाललाई फुटबलले खुशी बनाउने कालखण्डलाई जीवन्त राख्ने काम गरेकोमा लेखक वज्राचार्यलाई धन्यवाद दिए ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले खेलकुदले पनि कुनै पनि देशको समृद्धि देखाउँछ र यस्ता पुस्तक पनि त्यसका सहायक हुने धारणा राखे । प्रकाशक भूपेन्द्र खड्काले फुटबलको पहिलो पुस्तकमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।










