१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई हटाउनु पार्टी एकताको म्याण्डेट विपरीत: रायमाझी



अ+ अ-

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृद्धिको एजेण्डाभन्दा पनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे ।

उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिइरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’

रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए ।

‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो । हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन् । तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन् ।’ रायमाझीको गुनासो छ । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ ।

मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होइन । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होइन ।’

रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुने पनि टिप्पणी गरे । उनले भने,‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होइन । बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेट विपरित हुन्छ ।’

उनले आफू पार्टीभित्र कुनैपनि गुटमा नभएको स्पष्ट पारे । रायमाझीले थपे,‘म नेकपाको गुटमा छु । म नेकपाको सिपाही हुँ । कार्यकर्ता हुँ । मैले गुटलाई विश्वास गर्दिनँ । प्रचण्ड मेरो आदरणीय नेता हो । अभिभावक हो । अर्को अध्यक्ष कमरेड केपी ओली पनि मेरो नेता हो । म पार्टीको मान्छे हुँ । कुनै व्यक्तिको मान्छे होइनँ ।’