२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

अफ्रिकाका ९ देश औलोरोग मुक्त, अरू देशमा कहिले ?

अफ्रिकाका ९ देश औलोरोग मुक्त, अरू देशमा कहिले ?
मलेरिया खोपको अफ्रिकामा परीक्षण (फाइल तस्वीर)
अ अ+ अ-

एडिस अबाबा: रोकथाम र उपचार सम्भव हुँदाहुँदै पनि, मलेरिया (औलो रोग) अझै अफ्रिकी जनताको ज्यान लिँदै आएको छ । सन् २०२३ मा विश्वभर मलेरियाका कारण भएका ५,९७,००० मृत्युमध्ये करिब ९५ प्रतिशत अफ्रिका महादेशमा भएका थिए, जसमा ७६ प्रतिशत पाँच वर्षमुनिका बालबालिका थिए ।

तर अफ्रिकी संघको एजेन्डा २०६३ साकार पार्न र विकास लक्ष्यहरू प्राप्त गर्न बाधक बनेको यस रोगलाई अन्त्य गर्नु सम्भव छ । अफ्रिकी संघमा रहेका नौ वटा सदस्य राष्ट्रहरू – अल्जेरिया, आइभोरी कोस्ट, इजिप्ट, लेसोथो, लिबिया, मौरिसस, मोरक्को, सेशेल्स र ट्युनिसिया – ले मलेरियालाई उन्मूलन गर्न सफल भएका छन् । यसका लागि उनीहरूले निरन्तर राजनीतिक प्रतिबद्धता, प्राथमिक स्वास्थ्य सेवामा लक्षित लगानी, रोग निगरानी प्रणाली, र तत्काल उपचार व्यवस्थालाई सुदृढ गरेका थिए । उच्च मलेरिया भार भएका अफ्रिकी राष्ट्रहरूले यी उदाहरणहरूबाट सिक्नुपर्छ ।

उदाहरणका लागि, अल्जेरियाले घरभित्र कीटनाशक छर्ने, सबैका लागि स्वास्थ्य पहुँच सुनिश्चित गर्ने, र रोगको तत्काल पहिचान र नियन्त्रण गर्ने संयन्त्रहरूमा लगानी गरेको छ । आइभोरी कोस्टले बहुक्षेत्रीय रणनीतिअन्तर्गत स्थानीय समुदाय र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेर काम गर्‍यो । इजिप्टले प्राथमिक स्वास्थ्यकर्मीहरूको तालिमलाई प्राथमिकता दिने बहुआयामिक योजना लागू गर्‍यो । यी समन्वित प्रयासहरू कार्यान्वयन गर्न राजनीतिक इच्छाशक्ति र घरेलु स्रोतसाधनको वृद्धि अपरिहार्य थियो ।

सन् २००० मा अफ्रिकामा मलेरियाबाट मृत्यु हुनेको संख्या ८,०५,००० थियो, जुन सन् २०२३ मा घटेर ५,६९,००० मा झरेको छ । यो कीटनाशक झुल प्रयोग, घरभित्र औषधि छर्किने, र बालबालिकालाई दिइने मौसमी औषधोपचारजस्ता उपायहरूमार्फत सम्भव भएको हो । यद्यपि, कोभिड–१९ महामारी र मलेरिया औषधि आर्टेमिसिनिनप्रति आंशिक प्रतिरोध देखिन थालेपछि सन् २०२० मा मृत्यु संख्या पुनः ५,९८,००० पुगेको थियो ।

तर यो प्रगति जोखिममै छ । नयाँ लामखुट्टे प्रजातिहरूको उदय, कीटनाशक प्रतिरोध, जलवायु परिवर्तन, मानवीय संकट, र सबैभन्दा खतरनाक कुरा भनेको मलेरिया उन्मूलनका लागि आवश्यक कोषमा व्यापक अभाव रहेको छ । सन् २०२३ मा विश्वभर मलेरियाको अन्त्यका लागि जम्मा गरिएको रकम ४ अर्ब डलर थियो, जुन लक्ष्य गरिएको ८.३ अर्ब डलरभन्दा निकै कम हो । अझ अफ्रिकामा त स्वास्थ्यसम्बन्धी विदेशी सहयोग सन् २०२१ देखि २०२५ सम्म ७० प्रतिशतले घटेको छ । यसका साथै धेरै अफ्रिकी राष्ट्रले आफ्ना राष्ट्रिय बजेटको १० प्रतिशतभन्दा कम मात्र स्वास्थ्य क्षेत्रमा विनियोजन गरेका छन्, जुन सन् २००१ को अबुजा घोषणामा तय गरिएको १५ प्रतिशत लक्ष्यभन्दा कम हो ।

अतः अब अफ्रिकी सरकारहरूले मलेरियालाई विकासको प्राथमिकता मानेर बढी लगानी गर्न आवश्यक छ । अफ्रिकी डायस्पोराबाट हरेक वर्ष प्राप्त हुने ९५ अर्ब डलरभन्दा बढी रेमिटेन्सजस्ता स्रोतको उपयोग गर्नु पर्नेछ । डायस्पोरा बन्ड्सजस्ता नवीन वित्तीय उपकरणले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सहयोग पुर्‍याउन सक्छ । त्यस्तै, सूर्ती, मदिरा, मोबाइल कारोबार, र हवाई टिकटमा लगाइने करबाट पनि अरबौं डलर संकलन गर्न सकिन्छ । राष्ट्रिय स्वास्थ्य बीमा योजनाको विस्तार गरेर सबै नागरिकका लागि मलेरियाको रोकथाम, पहिचान र उपचारमा पहुँच सुनिश्चित गर्न सकिन्छ ।

साझेदारी वित्त मार्फत मलेरियासम्बन्धी अनुसन्धान, विकास, र औषधि निर्माणका लागि निजी पूँजी आकर्षित गर्न सकिन्छ । सन् २०३० सम्म अफ्रिकाको स्वास्थ्य बजार २५९ अर्ब डलर पुग्ने अनुमान भएकाले यस अवसरको उपयोग गरी सार्वजनिक–निजी साझेदारी, स्वास्थ्य सेवा वितरण प्रणाली, निगरानी र लामखुट्टे नियन्त्रणमा सुधार ल्याउन सकिन्छ ।

मलेरियामुक्त अफ्रिका भविष्यको लागि मात्र होइन, वर्तमानका लागि पनि लगानी हो । किनभने मलेरिया नियन्त्रण र उन्मूलनमा खर्च गरिएको हरेक १ डलरले ३६ डलरको आर्थिक प्रतिफल दिने अध्ययनहरूले देखाइसकेका छन् । मलेरियामुक्त जनसंख्या शिक्षामा सहभागिता जनाउने, आर्थिक विकासमा योगदान दिने सम्भावना बढी हुन्छ । वास्तवमा मलेरियासँगको लडाइँमा लगानी गर्नु केवल स्वास्थ्य र आर्थिक दृष्टिकोणले आवश्यक मात्र छैन, यो न्यायको कुरा पनि हो । मलेरियाबाट सबैभन्दा बढी असर गरिब र कमजोर समुदायमा पर्छ, जसले गरिबी र असमानताको चक्रलाई अझ बलियो बनाउँछ ।

गत वर्ष मैले मलेरिया भार उच्च भएका ११ अफ्रिकी संघका सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग मृत्यु घटाउनका लागि प्रतिबद्धता जनाएँ । हामी सबैले ‘उपलब्ध उपकरण र प्रणालीहरूको उपयोग गरी कोही पनि मलेरियाबाट मर्न नपरोस्’ भन्ने सन्देशमा सहमति जनाएका थियौँ ।

अब कार्यान्वयनको समय हो । म अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का महानिर्देशकको हैसियतले सन् २०४० भित्र अफ्रिकामा मलेरिया अन्त्य गर्ने रणनीति बनाउन तयार छु । सुसंगत लगानी, लक्षित नीति, र गहिरो सहकार्यमार्फत हामी आगामी पुस्तामा अफ्रिका मलेरियामुक्त बनाउने लक्ष्य हासिल गर्न सक्छौँ ।

जीन कासेया अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सिडिसी) का महानिर्देशक हुनुहुन्छ ।

स्रोतः प्रोजेक्ट सिन्डिकेट