२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सिरहामा धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहामा धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
सिरहाको मुसहर परिवार
अ अ+ अ-

सिरहाः सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहनुभएको थियो ।

पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उहाँको घरपरिवारका आँखा चार दिनसम्म पनि ओभाएको सकेको छैन । अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि विपन्न मुसहर परिवारमाथि बज्रपात परेको छ ।

करिब १४ क्विन्टल धान जलेर खरानी भएपछि सदाय परिवारको वर्षभरिको अन्नको जोहो गर्ने सपना पनि खरानी भएको छ । मानो रोपेर मुरी उब्जाएको त्यो अन्नसँग वर्षभरि पेट पाल्ने आशा पनि थियो । खडेरीका बेला अतिरिक्त पैसा तिरेर सिँचाइ गरी दुई दिन लगाएर छोरा–बुहारीसहित काटेको धान भित्र्याउन नपाउँदै मध्यरातमा कसैले आगो लगाएपछि धानसँगै यो परिवारको सपना पनि जलेको हो ।

“खडेरीका बेला अतिरिक्त रकम तिरेर छिमेकीको बोरिङबाट सिँचाइ गरेँ । दुःख गरेर रोपेको धान भित्र्याउन नपाउँदै एकैरातमा खरानी बनाइयो”, एकछिन आवाज अवरुद्ध गर्दै सदायले भन्नुभयो, “अब हामी के खाएर बस्ने ? हामीले कसको के बिगारेका थियौँ र ? गरिबको हातले उब्जाएको अन्नको के दोष थियो ? नाति, छोराबुहारीसहित पाँच जनाले वर्षदिन खाने अन्न नै जलाइदिएर हामी गरिबमाथि ठूलो अन्याय गरे ।”

सदायकी श्रीमती भुल्लीदेवी सदायका अनुसार १३० वटा बोझा (बिटा) बनाएर त्रिपाल बिछ्याई धानको कुन्यू लगाइएको थियो । आठ कट्ठा खेतको करिब १६ क्विन्टल धान भित्र्याउन नपाउँदै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

बाबुआमासँग बस्दै आएका कान्छा छोरा लाले सदाय पनि दुःख गरेर फलाएको धान भित्र्याउन नपाउँदै शत्रु लागेको बताउनुहुन्छ । “साँझ पर्न लागेकाले कुन्यू बनाएर १३० बोझा राखेका थियौँ । भोलिपल्ट बोरामा हालेर घर ल्याउने तयारी थियो, तर बिहान पुग्दा एक गेडा धान पनि बाँकी रहेन । मान्छेले कसरी यस्तो गर्न सक्छ ? यो प्रश्नले रात–दिन सताइरहेको छ”, उहाँले भन्नुभयो,“त्यो १६ क्विन्टल धान अन्न मात्र थिएन, त्योसँग वर्षभरिको पराल, गुइँठा, चामल, चाडपर्व, छोरोको शैक्षिक खर्च जस्ता थुप्रै योजनाहरू जोडिएका थिए ।”

सदाय परिवारले आगलागी भएको कुन्यू नजिकै मदिरा पसल चलाउने आशाकुमार रायसहित अन्य केही व्यक्तिविरुद्ध भोलिपल्टै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगेर कागजी प्रमाणसहित सूक्ष्म अनुसन्धान गरिरहेको छ । “धनगढीमाईस्थित इलाका प्रहरी कार्यालयमा कुर्वा गाउँका आशङ्का गरिएका पाँच जनालाई बोलाई सोधपुछ गरिएको छ र उनीहरूलाई दैनिक हाजिरीमा राखिएको छ”, उहाँले भन्नुभयो ।

धनगढीमाई–३ का वडाध्यक्ष वीरेन्द्रकुमार साह विपन्न मुसहर परिवारले उब्जाएको धानमा गरिएको आगजनीलाई अक्षम्य अपराध भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जो–जसले गरे पनि गरिबको पेट जलाउनु अक्षम्य अपराध हो । जस्तोसुकै रिसइवी भए पनि खाने अन्न जलाउनु हुँदैनथ्यो । प्रहरीले जसरी भए पनि अपराधी पत्ता लगाएर कारबाही गर्नुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।”

वडाध्यक्ष साहका अनुसार नगरप्रमुख शिव शङ्कर महतोसहितको टोलीले घटनाको भोलिपल्ट घटनास्थल निरीक्षण गरेको थियो । त्यस क्रममा नगरप्रमुख महतोले पीडितलाई उचित राहत उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

सदाय परिवारले पनि यो पीडालाई केवल अन्न जलन मात्र होइन, विपन्नतामाथि भएको निर्मम प्रहारको रूपमा लिएको छ । यो परिवार घटनामा जोडिएका व्यक्तिलाई कारबाही, सम्बन्धित निकायबाट तत्काल राहत र न्यायको पर्खाइमा छ ।

सुदिप राउत/रासस