नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिनुभयो । उहाँले दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने बताउनु भयो ।
पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको बारेमा छलफल हुने सोचे पनि आफ्नो बारेमा छलफल भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय ममानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नजानुभएको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छाँै भन्दै प्रश्न गर्नुभयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘अब एक पटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु । हामीले गलत काम नगरौँ । सही काम गर्न सक्दैनौँ भने चुप लागेर घरमा बसौँ । तर गलत काम नगरौँ । दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो हामीलाई नपारोस् । दण्डहिनताले अफ्ठ्यारो नपारोस् । सुशासन दिनसकौँ । हामी हाम्रो आचारण बदल्नुपर्छ । केही दिन पहिला पदाधिकारी, पूर्वपदाधिकारीहरुको बैठक बस्यो । त्यो भन्दा एक दिन पहिला देशको प्रधानमन्त्रीले एमालेले १५ गते काठमाडौं क्याप्चर गर्नुपर्छ भन्नुभयो । मैले त सुन्ने बित्तिकै विरोध गरेँ । के भन्न खोजेको देशको प्रधानमन्त्रीले ? मैले विरोध गरेको त खैर केही माने राख्दैन । राष्ट्रिय ममानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ । उहाँहरुले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो । भोलि पल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो । उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन । प्रधानमन्त्रीजीलाई फुर्सद भएन भनियो । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छाँै । मलाई त लागेको थियो, पदाधिकारीको बैठक यि विषयमा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ । हाँसो लाग्यो । ठिकै छ सहनुपर्छ । राजनीतिमा सहशीलता हुनुपर्छ । हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ ।’
सांसद कोईरालाले एमालेको जुलुस भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरुमा आएको नैराश्यताको परिणाम भएको बताउनु भयो । उहाँले अहिलेका नेताहरुको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताउनु भयो । उहाँले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताउनु भयो । त्यस्तो व्यक्तिले राजनीति गर्न नहुने बताउनु भयो । राजनीति गर्दा नैतिकवान भएर गर्न सुझाव दिनुभयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्नेकुरा छुनुभयो । किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरुमा नैराश्यता रहेको छ । उनीहरुले बाटो खोजिरहेका छन् । उनीहरुले राजाको शासन काल कस्तो थियो, उनीहरुले त यही ४ जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरु कहाँ जाने । हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ ।’
सांसद कोईरालाले काँग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताउनु भयो । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने बताउनु भयो । उहाँले बजेट कर्णप्रिय रहेको र कार्यान्वयन पक्षलाई सुधार गर्न जरुरी रहेको बताउनु भयो । —









