एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पटनामा क्रिकेटर वैभव सूर्यवंशीसँग भेट गरेका छन् । वैभवले मोदीको पाउ छोएर आशीर्वाद लिए । यस अवसरमा वैभवका आमाबाबु पनि उपस्थित थिए ।

प्रधानमन्त्रीले वैभवको परिवारसँग १० मिनेट बिताए । भेटमा मोदीले वैभवको प्रशंसा गरे । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन् – ‘पटना विमानस्थलमा, युवा क्रिकेट वैभव सूर्यवंशी र उनको परिवारलाई भेटें । उनको क्रिकेट कौशलको देशभर प्रशंसा भइरहेको छ । उनको भविष्यको लागि मेरो शुभकामना ।’
प्रधानमन्त्री बिहारको २ दिने भ्रमणमा थिए । फर्कने क्रममा पटना विमानस्थलमा यो भेटघाट भएको थियो ।
वैभवले १४ वर्ष २३ दिनको उमेरमा आईपीएलमा डेब्यू गरे, र आईपीएल इतिहासमा सबैभन्दा डेब्यू गर्ने कान्छो खेलाडी बने । उनले १९ अप्रिल २०२५ मा लखनऊ सुपर जायन्ट्सविरुद्ध राजस्थान रोयल्सका लागि डेब्यू गरे ।
वैभवले आफ्नो डेब्यू खेलमा २० बलमा ३४ रन बनाए, जसमा तीन छक्का समावेश थिए । यसअघि यो रेकर्ड प्रयास रे बर्मनको नाममा थियो । उनले १६ वर्ष १५७ दिनको उमेरमा डेब्यू गरेका थिए ।

यो वैभवको पहिलो आईपीएल सिजन थियो । वैभव सूर्यवंशीले ७ खेलमा २५२ रन बनाए र उनको औसत ३६ र स्ट्राइक रेट २०६.५५ थियो । यस अवधिमा वैभवले एक शतक र एक अर्धशतक बनाए ।
नोभेम्बर २०२४ मा भएको मेगा लिलामीमा वैभवलाई राजस्थान रोयल्सले १.१० करोड रुपैयाँमा किनेको थियो । वैभवको नाममा आइपीएलमा दोस्रो सबैभन्दा छिटो शतक छ । उनले गुजरातविरुद्ध मात्र ३५ बलमा शतक बनाए ।
वैभवभन्दा पहिले, क्रिस गेलले २०१३ मा पुणे वारियर्स विरुद्ध ३० बलमा आफ्नो शतक पूरा गरेका थिए, जुन आईपीएलकै सबैभन्दा छिटो शतक हो । वैभव आइपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बने ।
वैभव सूर्यवंशी बिहारको समस्तीपुर जिल्लाको ताजपुरका बासिन्दा हुन् । २७ मार्च २०११ मा जन्मिएका वैभवले आफ्ना बुबा संजीवको मार्गदर्शनमा ९ वर्षको उमेरमा क्रिकेट खेल्न थालेका थिए । छोराको क्रिकेटप्रतिको लगाव देखेर, सञ्जीवले वैभवको प्रशिक्षणको लागि आफ्नो जग्गा बेचे ।










