३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तव्यस्त सडक : दर्जन घर जोखिममा



अ+ अ-

बाजुरा । लगातारको वर्षाले  जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिराको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिराकै कारण दर्जनौा बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो । 

साँफे–मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिक रुपमा बन्द भइरहने गरेको छ  भने मार्तडी –कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु¥याएको छ । बाउली खोलाले पूरै बाटाका निशाना नै मेटाएर बगर बनाएको छ  भने  चुथीदेखि माथिको सडकमा पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेका सवारी साधन अलपत्र अवस्थामा छन् ।

ट्रयाक्टर बीचमै रोकिएपछि चालकसहित सामानसमेत अस्तव्यस्त अवस्थामा छन् । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँघुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्य पदार्थ ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ । 

यस्तै मार्तडी गौमूल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाण्डौ गुदुखातीलगायत क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घर माथिबाट पहिरो बग्ने र घर भत्किनेक्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउनेबित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । 

अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिक रुपमा बाटो, घर, सडक र  सिँचाइ कुलो भत्किएर लाखौँ नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाईगोरु चरिचरनमा समस्या देखिएको छ  भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुश्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताउनुभयो ।  

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे –मार्तडी सडक मार्तडी बजार क्षेत्र नजीकै पूर्ण रुपमा क्षति भएको छ । पहिराको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताउनुभयो । 

मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राखी सबैले आआफ्ना क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिइएको छ । यसैबीच मार्तडी बजार क्षेत्रभित्र दुनी हाट बजार र खेलकूद मैदान आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ ।