१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ वर्षे लक्का जवान भएको गणतन्त्र किन धर्मराउँदै छ ?



अ+ अ-

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएर १८ पर्वमा प्रवेश गरेको छ । २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाले नेपालमा साढे २ सय वर्ष लामो राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनको बलमा शान्तिपूर्ण रुपमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भएको हो । गणतन्त्र स्थापनाको १८ वर्ष प्रवेश गर्दा पनि यो व्यवस्था तन्दुरुस्त हुन सकेको छैन । गणतन्त्रमा आमनागरिकले न्यायको सम्म अनुभूत गर्न पाएका छैनन् ।

कहिले कार्यपालिका, कहिले व्यवस्थापिका तथा न्यायपालिकाकै क्रियाकलापका कारण पनि गणतन्त्रमाथि प्रश्न उठिरहेका छन् । कतिसम्म भने गणतन्त्र १८ औं वर्ष प्रवेश गर्नु अघिल्लो दिन बुधबार मात्र पनि गणतन्त्रमाथि प्रश्न उठाउने दुई वटा घटना भए । त्यो पनि कार्यपालिका र न्यायपालिकासँग सम्बन्धित ।

गणतन्त्रको १८ औं दिवसको पूर्वसन्ध्यामा बुधबार बिहानै बुटवलमा एक जनाले पूर्वपत्नी र दुई बालिकाको निर्मम हत्या गरेको घटना सार्वजनिक भयो । घटनाका आरोपी हुन्– आफ्नै दाजुको हत्या अभियोगमा जेल परेर २०८१ सालको संविधान दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका बुटवलका सुजन कोइराला । आफ्नै दाजुको हत्यामा दोषी ठहर भएर कैदजीवन भुक्तानी गरिरहेका उनलाई संविधान दिवसका दिन राष्ट्रपतिबाट आममाफी दिइएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा आचरण सुधार भएको भन्दै उनलाई आममाफी दिलाइएको हो । तर जेलबाट छुटेको एक वर्ष नपुग्दै उनले पूर्वपत्नी दीपा बस्याल र दुई अबोध बालिकाको हत्या गरे । कार्यपालिकाले कस्ता व्यक्तिलाई आचरण सुध्रियो भनेर आममाफी दिएको रहेछ भन्ने यो घटनाले छरपष्ट पारेको छ ।

हत्याको घटनाले दिनभर चर्चा पाइरह्यो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका व्यक्तिले फेरि तीन जनाको हत्या गरेको विषय सञ्चारमाध्यममा छाइरह्यो । गणतन्त्रमा यस्ता व्यक्तिलाई कसको सिफारिसमा किन आममाफी दिइयो भन्ने प्रश्न उठिरह्यो । यस्ता घटनाले गणतन्त्रमाथि प्रश्न उठाउनेहरुलाई बल पुगेको विश्लेषण समाजमा भइरह्यो ।

साँझ पर्न पाएको छैन फेरि अर्को खबर शहरदेखि गाउँसम्म फैलियो । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा बम विस्फोट गराएको र घटना सार्वजनिक हुने डरले २३ जनालाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय सुनाइएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आमललाई उच्च अदालतले निर्दोष ठहर गर्‍यो । अर्थात् उनले बम विस्फोट र हत्या अभियोगबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई निर्दोष सावित गर्‍यो ।

यो घटनामा कांग्रेस नेता आलम मात्र होइन, उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् अर्थात निर्दोष सावित भएका छन् । जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको ठहर उच्च अदालतले गरेको छ । उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको आरोपमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको अभियोग थियो । २०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन घटना भएको थियो ।

प्रहरी अनुसन्धानले आलमको निर्देशनमा घटना लुकाउन विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा लगेर जलाइएको औँल्याएको थियो । तर इँट्टाभट्टामा हालेर पोलिएको भन्ने ठोस प्रमाण पेस गर्न नसकेको भन्दै उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको हो । जिल्ला अदालतले प्रमाणलाई टेकेर गरेको फैसलालाई उच्च अदालतले प्रमाण देख्न सकेन । यो घटनालाई पनि गणतन्त्रमा राजनीति र अदालतलाई जोडेर अनेक प्रश्न उठेका छन् ।

यी दुई घटना त गणतन्त्र स्थापनाको १८ औं वर्ष प्रवेशको अघिल्लो दिन भएका हुन् । यस्ता घटनाले गणतन्त्रमाथि प्रश्न उठाउने काम गरेको छ । गणतन्त्रको राजनीति र न्याय भनेर सामाजिक सञ्जालमा अनेक तर्क वितर्क गरिँदै छ । यति मात्र होइन, गणतन्त्र स्थापनापछि जनताले जुन आशा र अपेक्षा राखेका थिए, त्यो हुन सकेको छैन । जनताले न सहज सेवा पाएका छन् न सुरक्षा र सुशासनको प्रत्याभूति नै । बरु देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। नागरिकमा निराशा छ । विकासको गति सुस्त छ । राजनीतिक अस्थिरता कायम छ भने दलहरु आ–आफ्नो दुनो सोझ्याउन र स्वार्थपूर्ति गर्न तल्लिन छन् ।

राजनीतिमा नैतिक मूल्य र मान्यता हराएको छ । आफूले गरेको जे पनि ठीक तर अरुले गरेको बेठिक गर्ने प्रवृत्ति छ । भ्रष्टाचार ढाकछोप गरिँदैछ । ठूला दलका शीर्ष नेताहरु सधैं सत्ता संघर्षमा तल्लिन छन् । राज्यका प्रमुख तीन शक्ति कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलनमा समस्या छ । यसले गर्दा गणतन्त्रविरोधी आन्दोलन गर्नेहरुलाई मलजल पुग्दै गएको छ ।