१९ माघ २०८१, शनिबार
,
Latest
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रमुखमा विवादरहित बढुवा



अ+ अ-

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८औं महानिरीक्षकमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीसँगै महानिरीक्षक बन्ने दौडमा अर्का एआइजी हरिबहादुर पाल थिए । सरकारले दुई जनामध्ये कार्यक्षमता तथा वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक बनाएको हो । प्रहरी प्रमुखमा बढुवा भएका थापाको कार्यकाल १९ वैशाख २०७९ सम्म हुनेछ । उनले बिहीबार कार्यभार सम्हाल्नेछन् ।

२७औं महानिरीक्षकका रूपमा बढुवा भएका ठाकुर ज्ञवालीले आज (बुधबार)बाट ३० बर्से सेवा हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । ज्ञवाली अवकाश हुने भएपछि सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो । ज्ञवालीसगै एआइजी तारिणी लम्साल र डिआइजी सूर्य उपाध्यायले पनि ३० बर्से सेवा अवधिका कारण अवकाश पाउँदै छन् ।

सरकारले यसअघि एआइजी पद रिक्त हुँदा डिआइजीबाटै सिधै प्रहरी महानिरीक्षक बनाउँदै आएको थियो । ज्ञवालीसमेत डिआइजीबाटै प्रहरी प्रमुख बनेका थिए । तर, यसपटक भने थापालाई चार वर्षपछि एआइजीबाटै प्रहरी प्रमुख बन्ने अवसर जुरेको हो ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आइजिपी ज्ञवालीले एआइजीको अनुभव नै प्राप्त नगरी सिधै डिआइजीबाटै प्रहरी प्रमुख बन्ने अवसर पाएका थिए । प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआइजीबाट वा एआइजी नभएको अवस्थामा डिआइजीबाट बढुवा गर्न सकिने उल्लेख छ ।

त्यसअघि २०७० मंसिरमा आइजिपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिन मात्रै एआइजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५औं महानिरीक्षकमा प्रकाश अर्याल डिआइजीबाट सिधै आइजिपी बनेका थिए । आइजिपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिना डिआइजीको जिम्मेवारी सम्हालेका थिए ।

को हुन् थापा ?
प्रहरी संगठनमा शालीन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा शैलेश थापा क्षेत्रीलाई लिइन्छ । १९ वैशाख २०४९ बाट प्रहरी निरीक्षक हुँदै प्रहरी सेवामा प्रवेश गरेका थापा भक्तपुर कटुन्जेका स्थायी बासिन्दा हुन् । उनी २३ मंसिर २०२५ मा जन्मिएका हुन् ।

थापाले संगठनमा व्यावसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएका छन् । डिआइजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका छन् । थापाको व्यावसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआईजी हुँदा प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बसेर अनुभव बटुलेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । त्यस्तै, डिएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की र झापाको कमान्ड सम्हालेका थिए । एसएसपीमा बढुवा भएपछि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता बनेका थिए । उनले डिआइजी बनेपछि समेत प्रहरी प्रधान कार्यालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । थापाका बुबा पनि अवकाशप्राप्त डिआईजी हुन् ।

सधैं पहिलो
प्रहरी संगठनमा शैलेश थापा क्षत्री र हरिबहादुर पाल एकै मितिमा भर्ती भएका हुन् । थापा पाललाई उछिँन्दै सधैं बढुवामा पहिलो हुँदै अघि बढे । जागिर सुरु गर्दा उनको पहिलो दरबन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको थियो ।

प्रहरी संगठनमा एआइजीसम्म आइपुग्दा नै पालभन्दा थापा अगाडि छन । १८ वैशाख २०५८ मा डिएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३औं नम्बरमा झरे । तर, त्यसको ८ वर्षपछि एसपीमा बढुवा हुँदा थापा एक अंक पछि धकेलिँदा पाल ८ अंक अगाडि आए । २० पुस २०६६ को एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा बढुवा भए । १९ साउन २०७४ मा एसएसपीको बढुवा सूची सार्वजनिक हुँदा समेत थापा पहिलो नम्बरमा परे भने पाल चौथो नम्बरमा झरे । डिआइजी र एआइजीसम्म आइपुग्दा पाल थापा पछिको वरीयतामा परेका छन् ।

पाँच जना महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमान्डको कार्यान्वयनमा सफल मानिन्छन । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा समेत खटिएका थिए ।

सहमतिमै आइजिपी
सरकारले यसपटक बिनाविवाद सहमतिमै एआइजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनाएको हो । यसअघि प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा प्रधानमन्त्री, गृहमन्त्री र सरकारमा सहभागी दलका नेताबीच नै पक्ष विपक्षमा खिचातानी चल्ने गरेकामा यसपटक विवादबिना नै प्रहरी संगठनले नेतृत्व पाएको हो ।

एआइजी थापा र पालबिच यसपटक प्रहरी महानिरीक्षकको दौडमा कुनै वैमनस्य उत्पन्न भएन । बरु उनीहरू दुवै संगठनको हितका लागि आफूहरूमध्ये जो महानिरीक्षक बने पनि मिलेरै अघि बढ्ने प्रतिबद्धतासहित अन्तिम अवस्थासम्म पनि सहकार्यमै रहिरहे । प्रहरी प्रमुखको चर्चा सुरु भएपछि उनीहरू दुवै एक कार्यक्रममा सहभागी हुन जाँदा एउटै गाडीमा गएका थिए ।

थापाले एआइजी बनेसँगै मानवस्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थिए भने पालले कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।

विगतमा यस्ता थिए विवाद
विगतका केही महानिरीक्षक नियुक्ति भने विवादमा परेका थिए । आइजिपीमा प्रतिस्पर्धाका लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवाल र जयबहादुर चन्दको विवाद भने सतहमा नै आएको थियो ।

त्यस बखत तत्कालीन सरकारले पहिलो वरीयतामा रहेका सिलवाललाई नबनाएर तेस्रो नम्बरमा रहेका चन्दलाई आइजिपी नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालतको ढोका ढकढक्याउन पुगेका थिए । अदालतले चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाएपछि सरकारले दास्रो वरीयतामा रहेका प्रकाश अर्याललाई महानिरीक्षक बनाएको थियो ।

त्यस्तै, २६औं महानिरीक्षक बन्नका लागि तत्कालीन डिआइजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच समेत शक्ति केन्द्र धाउने होडबाजी नै चलेको थियो । त्यस बखत डिआइजीमा खरेलभन्दा कनिष्ठ रहेका खनाललाई सरकारले आइजिपी बनाएपछि खरेलले डिआइजीबाटै राजीनामा दिएका थिए ।

त्यसअघि कुवेरसिंह राना प्रहरी प्रमुख हुँदा समेत उत्पन्न भएको थियो । त्यसबखत रानासँगै प्रतिस्पर्धामा रहेका एआइजीद्वय नवराज ढकाल र भीष्म प्रसार्इंबीच प्रहरी संगठनको नेतृत्व हात पार्न कडा प्रतिस्पर्धा भएको थियो ।

ज्ञवालीको कार्यकाल न उपलब्धि न विवाद
१ सय ४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका २७औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको कार्यकाल कुनै पनि उपलब्धि र विवादबिना नै बितेको छ । बिनाप्रतिस्पर्धा सहज रूपमा प्रहरी संगठनको नेतृत्व हात पारेका ज्ञवालीले आफ्नो पाँच महिने कार्यकालमा सरल शैलीमा नै संगठन चलाए । उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । प्रहरी संगठनमा इमानदार अधिकृतको छवि बनाएका ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे ।

आइजिपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । यो समयमा उनले त्यतातर्फ ध्यान नै लगाउन भ्याएनन् । ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै सो घटनाको छानबिनमा संलग्न रहेकाले उनको कार्यकालमा निर्मला हत्याको रहस्य खुल्ने धेरैको अपेक्षा थियो ।

उनी आइजी बनेको करिब डेढ महिनापछि विश्वभर कोरोना महामारी फैलियो । यसबीचमा सबै क्षेत्र अस्तव्यस्त रहेका कारण उनले समेत कोरोनाकै कारण छाटो समयम चाहे जति काम गर्न नपाएको भन्ने अवसर प्राप्त गरेका छन् । उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर, सरकारी पक्षबाटै सोबारे कार्यविधि नै नबनेका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।

आइजी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण आजै अवकाश पाउँदै छन् । उनको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले साँझ ५ बजे कार्यक्रम तय गरिसकेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।