काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत विक्री गरिरहेको बताउनुभएको छ ।
आईतवार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताउनु भयो । बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताउनु भयो ।
दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको बताउनु भयो । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको बताउनु भयो । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गर्नुभयो । शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर विक्री गरेको बताउनु भयो । जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको बताउनु भयो । नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि कन्नि नपर्ने र दिउँसो पनि सस्तोमा भएपनि बेच्न सकिने बताउनु भयो ।
प्रवन्ध निर्देशक शाक्यले भन्नुभयो, ‘अहिले केही दिनदेखि भारतमा बिजुली दिउँसोको समयमा सस्तो भएको छ । यो विभिन्न भारतीय मिडियामा पनि आएको छ । युरोपमा कुनै बेला नेगेटिभ प्राइज हुन्छ भन्थ्यौँ । बिजुली खपत गरेबापत उल्टै पैसा पाउने भन्ने थियो । भारतमा अहिले त्यो करिव करिव शुरु भएको अवस्था छ । एक मेगावाट आवरको करिव ५० पैसा भनेपछि एक युनिटको त एक पैसा भन्दा कममा अहिले दिउँसोको एउटा समय त्यतिसम्म झरेको छ । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राख्यौँ । खर्च गरेनौँ । बेलुका अहिले पिक लोड समयमा ति आयोजनाहरु चलायौँ । पिक लोडको समयमा पनि अहिले हामीलाई भारतबाट बिजुली लिनु परेन । हाम्रो खोलामा पानी प्रशस्त बढेको छ । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेच्दैछौँ । ९ बजेपछि भारु ४ मा बिजुली पाउने अवस्था छ । त्यसको मतलव हामीले सस्तोमा एक डेढ पैसा, परयुनिटमा किनेर भारु ४ मा बेच्न पाउने अवस्था छ । राति पनि दुई, अढाई रुपैयाँ तलमाथि भइरहन्छ । हामीले शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरेछौँ । राति हामीले १३ सय मेगावाट आवर विक्री गरेका छौँ । विक्री र खरिद युनिट हेर्दा विक्री युनिट कम छ । तर पैसाको हिसावले फाइदा छ । यही क्रम अझै केही दिनसम्म रहन्छ । जबसम्म आफ्नो खोलाको पानी दिउँसोसम्म बढी हुने, सञ्चित गर्न नसकिने गरी हुन्छ, त्यसपछि हामी भारतबाट किन्दैनौँ । तर राति हामी बेच्नसक्छाँै । राउण्ड द क्लर्क जुन १५ देखि शुरु हुन्छ । मल्टि इयर ५ वर्षे जुन छ । त्यसमा एउटा फिक्स दरमा बेच्ने सम्झौताअनुसार बेच्छौँ । बजारको दरमा भर पर्दैन ।’
प्रवन्ध निर्देशक शाक्यले गत बुधवार र बिहीवार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गर्नुभयो । वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको बताउनु भयो ।










