२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’



अ+ अ-

काठमाडौँ। सरोकारवालाले नेपालमा सर्पदंश रोकथाम अभियानमा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्ने धारणा राखेका छन् ।

अहिले पनि गाउँघरमा सर्पले डस्ने बित्तिकै धेरैजसो बिरामी धामी झाँक्री कहाँ जाने गरेकाले यसबारेमा सचेतना फैलाउन धामी झाँक्रीलाई परिचालन गर्नुपर्ने भनाइ उनीहरुको छ ।

नेपाल चिकित्सक सङ्घले रोटरी नेपाल सर्पदंश रोकथाम अभियानसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको छलफलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जिव कुमार शर्माले भन्नुभयो, “अधिकांश अझै पनि धामी झाँक्रीकै भर परिरहेका छन् । सर्पदंशबाट धेरैजसो महिला तथा बालबालिका प्रभावित हुने गरेका छन्  । नेपालमा गोमन र करेत सर्पले सबैभन्दा बढी डस्ने गरेको छ ।” उहाँले सर्पदंशको बिरामीमध्ये करिब ८० प्रतिशतले उपचार नपाएर मृत्युवरण गर्ने गरेको बताउनुभयो ।

सर्पदंश रोकथाम अभियानमा लामो समयदेखि काम गरिरहनुभएका उहाँँका अनुसार नेपालमा बर्सेनि ४० हजार बढी मानिस सर्पदंशको सिकार हुने र त्यसमध्ये तीन हजार बढीको मृत्यु हुने गर्दछ । “सर्पदंशबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्छ । टोकिहालेमा तुरुन्त अस्पताल गएर उपचार गराउनुपर्छ । समयमा उपचार पाएको खण्डमा मृत्यु हुँदैन”, डा शर्माले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालका डा प्रकाश शाक्यले सर्पदंश सामूहिक संलग्नताले रोकथाम गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्पदंश उपेक्षित उष्ण प्रदेशीय क्षेत्रको समस्या हो । विपन्न वर्गका साथै जहाँ स्वास्थ्य सेवाको पहुँच कम छ, सरसफाइको कमी छ त्यस्तो ठाउँमा बढी देखिन्छ । रोकथाम तथा जनचेतना अभियानमा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ । उहाँहरुलाई सशक्त बनाउनसके रोकथाममा सहज हुन्छ ।”

जनस्वास्थ्य समस्याका रुपमा रहेको सर्पदंश नेपालको तराई–मधेस क्षेत्रमा बसोबास गर्ने अतिविपन्न वर्गमाझ व्याप्त छ । सरोकारवाला तथा विज्ञहरुले समुदायमा सूचना प्रवाह गर्दै सर्पदंशबाट बच्ने उपाय र प्राथमिक उपचारबारेमा सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ)का वन्यजन्तु जीवविज्ञान विज्ञ डा शशांक पौडेलले जलवायु परिवर्तनले सर्पको बासस्थान परिवर्तन भएको बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले अझै पनि सर्पदंशको उपचारबाट मानिस बञ्चित हुनुपरिरहेको बताउँदै सरकारले यो समस्या मौसमी भए पनि औषधिको उपलब्धता र स्वास्थ्य सेवाको पहुँचमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस