
काठमाडौं । संघीय राजधानी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । जुन स्टाटसलाई लिएर अहिले सबैतिर चर्चा भइरहेको छ ।
बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप मात्र लगाएका छैनन्, उनले यो प्रणालीप्रति नै गम्भीर आशंकासमेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्–
जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा,
देशको सवै पार्टीको सबै लागेर भ्रस्टाचारी जोगाउँछु भन्छ ?
त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन ।
यही जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीमाथि प्रश्न उठाएका थिए ।
मूल आयोजक समितिका पदेन सदस्य रहने काठमाडौंका मेयरको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएको खबर सार्बजनिक भएपछि मेयर साहले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री माथी कटाक्ष गरेका हुन् । उनले ओलीमाथि कटाक्ष मात्र गरेका छैनन्, भ्रष्टाचार प्रणालीलाई समर्थन नगर्ने घोषणा पनि गरेका छन् ।
बालेन २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता स्थापित राजनीतिक दलका उम्मेदवारलाई हराउँदै काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका हुन् । बालेनको कुनै राजनीतिक आस्था छैन । स्वतन्त्र भएर नै अहिलेसम्म काम गर्दै आएका छन् ।
संघीय सरकारसँग धेरै विषयमा टकराव लिइरहने बालेनले पटक पटक आफ्ना कुरा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्छन् । तर उनी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअन्तर्गत नै काठमाडौं महानगरको प्रमुख भएका हुन् । तर उनले वर्तमान प्रणालीबाट अहिलेसम्म कुनै पनि धारणा सार्वजनिक गरेका थिएनन् ।
कहिले संघीय सरकारसँग त कहिले प्रदेश सरकारसँग जुहारी खेलिरहने बालेनले सार्वजनिक रुपमा राजनीतिक प्रणालीमाथि प्रश्न उठाएका छैनन् । तर सोमबार भने उनले अहिलेको प्रणालीलाई नै भ्रष्ट भनेका छन् । यो अभिव्यक्तिले कतै बालेन संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी त होइनन् भन्ने प्रश्न उठेको छ ।
त्यसो त बालेनले अहिलेसम्म प्रदेश सरकारप्रति नकारात्मक टिप्पणी गरेका थिएनन् । तर उनको प्रदेश सरकारप्रति पनि सकारात्मक धारणा नभएको एउटा अभिव्यक्तिबाट थाहा हुन्छ ।
बालेनले गत पुस २८ गते प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव हरिप्रसाद लम्सालसँगको भेटमा काठमाडौंका प्रमुख शाहले स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो भन्दै प्रश्न उठाएका थिए ।
त्यस बेला उनले भनेका थिए– ‘संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभास हुन सकेन ।’ उनले अगाडि भनेका थिए– ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ? सुकुमवासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनस्र्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । तर, त्यसो हुन सकेन ।’
यो भनाइले पनि बालेन शाह प्रदेश सरकारप्रति कठोर हुन् भन्ने आँकलन गर्न सकिन्छ । तर प्रदेश सरकार नै खारेज हुनुपर्छ भनेर चाहिँ उनले कहिल्यै बोलेका थिएनन् । सोमबार प्रधानमन्त्री ओलीप्रति आक्रोस व्यक्त गर्ने क्रममा उनले यो भ्रष्ट प्रणालीलाई समर्थन गर्न नसक्ने घोषणा गरेका छन् । यो भनाइले बालेनलाई फेरि एकपटक विवादमा तानेको छ ।
राजतन्त्र पुनस्र्थापनाको माग राखेर राजावादीहरुले आन्दोलनका कार्यक्रम चलाइरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुखले सामाजिक सञ्जालमार्फत् विवादास्पद स्टाटस सार्वजनिक गरेर यो प्रणालीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।
बालेनले यो प्रणालीलाई समर्थन नगर्ने घोषणाको अर्थ के हो त ? उनले सरकारमाथि आक्रोस व्यक्त गरेको भए त्यही अनुसारको कुरा राख्थे होलान् । तर यहाँ त त्यो देखिएको छैन । सिस्टममाथि नै प्रश्न उठाएका हुन् ।
अघिल्लो वर्ष पनि गणतन्त्र दिवसको कार्यक्रममा बालेन सहभागी भएका थिएनन् । प्रधानमन्त्रीले बोलाएको बैठकलाई पनि उनले अटेरी गर्दै आएका छन् । यस पटक पनि बालेन गणतन्त्र दिवसको कार्यक्रममा सहभागी हुन्छन् या हुँदैनन् भन्ने प्रष्ट भइसकेको छैन । गणतन्त्र दिवस मनाउन उनी सहभागी नहुँदा कतै उनी यो व्यवस्था मान्न तयार छैनन् कि भन्ने आशंका थियो । तर उनले खुलेर बताइरहँदा यसलाई सहज रुपमै लिइएको थियो । तर अहिले त उनले यो भ्रष्ट सिस्टमको समर्थन गर्दिंनँ भनेर खुलेरै बताएका छन् ।
गणतन्त्र दिवस मूल समारोह समितिमा काठमाडौं महानगरका प्रमुख पदेन सदस्य हुने कानुनी व्यवस्था छ । तर यहाँ त महानगर प्रमुख नै गणतन्त्र दिवस मूल समारोह समितिमा उपस्थित हुनु त कता हो कता ? भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने घोषणा गरेर व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेका छन् ।
बालेनको आक्रोस सरकारमाथि भएको भए सरकारलाई दोष देखाएर लेख्न सक्थे । तर यहाँ त प्रधानमन्त्री ओलीलाई तपाईंको भ्रष्ट सिष्टमलाई समर्थन गर्न नसक्ने घोषणा गरेका छन् । उनको यो अभिव्यक्तिको विभिन्न पाटोबाट विश्लेषण गर्न सकिन्छ । तर सरसर्ती हेर्दा बालेन वर्तमान व्यवस्थाप्रति नै कठोर बनेको त होइन भन्ने देखिएको छ ।