६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सञ्चार माध्यमबारे भारत सरकारलाई ध्यानाकर्षण पत्र



अ+ अ-

काठमाडौँ । भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ । ‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’

नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास छ, जसमध्ये सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशीलता यस सम्बन्धको महत्वपूर्ण अंश हुन् भनेर पत्रमा प्रस्ट्याइएको छ । यी गहिरो र बहुआयामिक सम्बन्ध सार्वभौम समानता, मित्रता, समझदारी, एकअर्काको रुचि र सरोकारको परस्पर सम्मानको अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको पत्रमा उल्लेख गरिएको छ । दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा अवश्य पनि सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै रचनात्मक भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । ‘हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दछौं, त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नुहुँदैन’, पत्रमा अगाडि भनिएको छ, ‘देशको नेतृत्वको घोषणाविपरीत यो झुठो, मनगढन्ते र अपमानजनक सामग्री नेपाल र नेपाली जनताको अपमान गर्न प्रसारण गरिएको थियो ।’ २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका लागि यो सही कदम नभएको पनि प्रस्ट पारिएको छ ।

यस्ता घृणात्मक र अपमानजनक सञ्चार सामग्रीले मैत्रीपूर्ण छिमेकी सम्बन्धमा असर पर्ने नेपाल सरकारले स्पष्ट पारेको छ । साथै यसले जनता र आगामी पुस्तामा समेत पीडा र घृणा छर्ने काम गर्ने भएकाले त्यस्ता सामग्री प्रसारण नगराउन नेपाल सरकारले आग्रह गरेको छ । पत्रमार्फत भारतीय सञ्चार माध्यमद्वारा नेपालका बारेमा प्रसारित अश्लील सामग्रीविरुद्ध तुरुन्त कदम चाल्न र ती सामग्रीले सञ्चार मिडियामा स्थान नपाउने विषय सुनिश्चित गर्न नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेको छ । यसअघि भारतीय सञ्चार माध्यमले नेपाल सरकारको नेतृत्व र दुई देशबीचको सम्बन्धमा आँच आउने गरी सामग्री प्रकाशन प्रसारण गरेलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता क्रियाकलापले नेपाल र नेपाली जनताको अपमान गरेको प्रतिक्रिया दिएका थिए। त्यस्तै नेपालका केवल नेटवर्कले सरकारीबाहेक भारतका सञ्चार माध्यमलाई नेपालमा बन्देज लगाउने निर्णय गरेको थियो । गोरखापत्र दैनिक