१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

संखुवासभामा पहिरोले ९ घर बगायो, ११ जना बेपत्ता

संखुवासभामा पहिरोले  ९ घर बगायो, ११ जना बेपत्ता
अ अ+ अ-

संखुवासभा । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो । मध्यरात ठूलो आवाजका साथ पहिरो खसेका बेला सबै निन्द्रामा रहेको ७९ वर्षीय गोवासिंह राईले बताए । पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो ।

पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन । घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४/५ वटा घरमा राखिएको छ । एक साताको झरीले भिरालो जमिनमा पहिरो खसेको हो । घर बगाएर घाइते अवस्थामा उद्धार गरिएका ७९ वर्षीय गोवासिंहले ठूलो आवाजमा पहिरो एकैपल्ट झरेको बताए । उनी हात र टाउकोमा डुंगाले लाग्दा गम्भीर घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार दिनभर पानी परिरहेकाले घाइतेको उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ । ७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् । घटनाका बेला जुद्धबहादुर घरमा थिएनन् । घरभन्दा २ दिन टाढा बेवानामा रहेको भेडीगोठमा गएकाले जुद्धबहादुर जोगिए पनि घटना थाहा पाएपछि गहिरो चिन्तामा छन् । पहिरोमा परेर श्रीमती र छोरी बेपत्ता भएको खबर उनले घटनाको झन्डै १२ घण्टापछि आइतबार दिउँसोमात्रै पाए ।

संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् । ५२ वर्षीय जुद्धबहादुर माने (राई) र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरो सिसुवा खोलामा पुगेको छ । उद्धारका लागि गएका मदन राईको मृत्यु भएको छ । दमका बिरामी रहेका उनको हृदयाघातले मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको छ । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी टोली पुगेको डीएसपी मल्लले बताए । उद्धारका लागि पुगेको सुरक्षाकर्मीको टोलीले विस्थापित परिवारलाई चित्रे डाँडामा सारेको हो । विस्थापितहरू त्रिपाल टाँगेर बसेका छन् ।

घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको ठाउँमा भएकाले सदरमुकामबाट उद्धारको टोली पुग्न समय लाग्ने मल्लले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलका लागि हिँडेको छ । खाँदबारीबाट १५/१५ जना सशस्त्र र नेपाल प्रहरीको डफ्फा र सेनाको ३० जनाको टोली घटनास्थलतर्फ गएको छ । तर धेरै ठाउँमा पहिरो गएकाले टोली साँझसम्म पनि घटनास्थलमा पुगिसकेको थिएन । तयारी अवस्थामा राखिएको हेलिकप्टर दिनभरि झरी परेको र हुस्सु लागेका कारण उद्धारका लागि जान नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । उनका अनुसार सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरीमा छ । घाइते ३ जनाको स्थिति सामान्य छ । घटनास्थल पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा १२ घण्टा पैदल हिँड्नुपर्छ । ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थल पुगिसकेका छन् । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थल गइरहेका छन् ।

वर्षा नथामिँदा खोजी, उद्धार र आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

यता सदरमुकाम खाँदबारीमा देवकोटा चोक–सातकुवा सडकमा दुई सय मिटरभन्दा माथिबाट पहिरो झरेकाले आवागमन अवरुद्ध भएको छ । पहिरोले केही घर जोखिममा परेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् । खाँदबारी–१ ढोलबाजेको सडकमाथिबाट पहिरो झरेकाले आवतजावतमा समस्या भएको छ । कान्तिपुर दैनिक