१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो



अ+ अ-

मलङ्गवा (सर्लाही) : काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् ।

यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो । छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन ।

मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुुग्नुभएको छ । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् ।

शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिनुभयो । “यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन”, उहाँले भन्नुभयो,“यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ ।”

मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताउनुभयो । “आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो”, परियारले भन्नुभयो, “उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।”

परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहनुभएको थियो । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।रासस