२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत
अ अ+ अ-

बागलुङ। अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ । गहुँको बाला सुकाएर लौरोले चुट्ने परम्परा त्यागेर थ्रेसर मेसिन (उपकरण) भित्रिएपछि किसानकाे समय र खर्चको बचत भएको छ ।

बागलुङ नगरपालिका–३ खहरेका किसानले कृषिमा आधुनिकरणमार्फत कृषि कर्म गर्दा समय र खर्च दुवैको बचत भएको बताउँछन् । अहिले थ्रेसर मेसिनको सहायताले गहुँ भित्र्याइएको जनाउँदै दुई पटक लगाइने धान बालीमा यान्त्रिकीकरणको प्रयोग गरिँदै आइएको स्थानीय धना रानाले बताउनुभयो । उहाँका अनुसार उत्पादन लागत घटाउँदै छिटो र छरितो ढङ्गबाट कृषि कामका लागि प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको छ ।

धान काट्ने र रोप्ने बाहेकका अन्य काममा यान्त्रिकीकरणको प्रयोग भइरहेको बताउँदै उहाँले कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग प्रभावकारी हुने धारणा राख्नुभयो । “खहरे क्षेत्रमा चैते र असारे दुई पटक धान फल्छ, गहुँको उत्पादन प्रशस्त हुन्छ । गहुँ लौरोले चुट्न छोडेको एक दशक भयो, एउटा गाउँमा एउटा थ्रेसर मेसिन भएमा सबैलाई पुग्छ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भइरहँदा किसान यान्त्रिकीकरणमा आकर्षित भएका छन् । यसले समय र खर्च बचत गरेको छ ।”

किसानले परम्परागत सीप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोगलाई बढाएका छन् भने स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई यान्त्रिकीकरणमा सघाउँदै आएका छन् ।

खाद्यान्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकीकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन् । अहिले गहुँ बाली लगाइएको खेतबारीमा थ्रेसर मेसिनले गहुँ चुटिरहेको छ ।

व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा औजार तथा उपकरण प्रदान गर्ने गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरभरका पाँच सय किसानलाई सेवा दिनेगरी समूह र व्यक्तिलाई गत वर्ष १० वटा थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा वडागत रूपमा पायक प्रदान गरिएको जनाउँदै उहाँले उपकरणले गहुँ, कोदो, तोरी र धान चुट्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रिकीकरणको आवश्यकता स्थानीय पालिकाले महसुस गर्दै नीति तथा कार्यक्रममा समावेश गर्दै आएका नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग किसानले प्रयोग गरिरहेका छन् ।

योसँगै महँगोे पारिश्रमिक बुझाएर श्रमिक खोज्नुपर्ने अवस्थाको अन्त्य भएको बागलुङ नगरपालिकाबाट थ्रेसर मेसिन अनुदानमा लैजानुभएका सुरेश विकले बताउनुभयो । गाउँका युवा विदेश पलायन हुँदा जनशक्ति अभाव भई धान, गहुँ, कोदो स्याहार्न समस्या भएकाले अनुदानमा मेसिन पाएपछि सहज भएको उहाँको भनाइ छ ।

“दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा बढी खर्च लाग्छ, गहुँको बाला काट्ने र चुट्न दोहोरो खर्च र समय पनि बढी लाग्छ । थ्रेसर मेसिनले एकै घण्टामा काम सक्ने भएपछि समय र खर्च बचत भएको छ”, विकले भन्नुभयो ।

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानलाई राहत भएको छ ।

परम्परागत तरिकाले गरिने गहुँ, मकै तथा कोदोलाई कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा मात्रै २० वटा थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।

“मिनिटेलर हलो, थ्रेसर मेसिनका कारण किसानलाई सहज मात्रै भएको छैन समय र खर्च बचत भएको छ, चालु आर्थिक वर्षमा २० वटा थ्रेसर मेसिन वितरणले किसानलाई राहत मिलेको छ, स्थानीय तहले कृषिमा यान्त्रिकीकरण भित्र्याउन थालेका छन्”, उहाँले भन्नुभयो । रासस