५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो



अ+ अ-

गोरखा। जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो ।

छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।

“हामीले नौ दिन लगाएर उत्खनन ग¥यौँ”, विभागका अधिकृत अधिकारीले भन्नुभयो, “यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा, ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो । तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन् । इँटा, ढुङ्गा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।” यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । “गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ”, अधिकारीले भन्नुभयो, “अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर, अझै सकिएको छैन । अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।”

उहाँका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । “जग हेर्दा इँटा, ढुङ्गाबाट निर्माण भएको र झिङ्गटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ”, उहाँले भन्नुभयो ।

विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिनुभयो । “दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ । यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ”, उहाँले भन्नुभयो ।

हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उहाँले जानकारी दिनुभयो । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ । रासस