२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड
अ अ+ अ-

काठमाडौँ। सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिनुभएको छ ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उहाँहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवद्र्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताउनुभएको हो ।

सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमासमेत असर पुग्ने बताउनुभयो । “जाडो याममा पानीको स्रोत घट्दा नै नेपालले ऊर्जा भारतबाट आयात गरेर विद्युत् आपूर्ति गराएका छौँ”, उहाँले भन्नुभयो, “अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा धेरैजसो स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ, सर्वसाधारणहरु प्रसारण लाइन चाहन्छन्, तर आफ्नै घर अगाडि र पछाडि होइन, अब त्यसलाई कसरी प्रवद्र्धन गर्ने ?”

शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताउनुभयो । नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको भन्दै उहाँले भन्नुभयो, “हिजो साँझ मात्रै धेरैपटक लाइन काटियो, किनभने हाम्रो प्रसारण प्रणाली निकै कमजोर छ, एउटा लिङ्क बिग्रिएपछि सिङ्गो प्रणाली नै बन्द हुन्छ ।”

अहिले प्रसारण सञ्जालमा निजी क्षेत्रको सहभागिता पनि खोजिएका र यसका लागि नियामक संरचना आवश्यकपर्ने उहाँको भनाइ छ । “निजी क्षेत्रलाई कसरी समावेश गर्ने भन्ने विषय महत्वपूर्ण छ, नेपाल विद्युत् प्राधिकरणसँग पर्याप्त वित्तीय स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ”, शाक्यले भन्नुभयो ।

यसैगरी काठमाडाँै विश्वविद्यालयका उपकुलपतिका डा अच्युतप्रसाद वाग्लेले  हरित ऊर्जा उत्पादन र प्रयोग प्रवद्र्धन गर्न निजी क्षेत्र र सरकारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । “अहिले हामी न्यूनतम ऊर्जा आवश्यकतालाई पूरा गर्न चाहन्छौँ, तर लगानी कहाँबाट जुट्छ ? त्यसैले लगानीका नयाँ स्रोत पहिचान गर्नु अत्यावश्यक छ, केबल सार्वजनिक लगानीको भरमा मात्र यसो सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “हरित जलवायुमैत्री लगानीका अन्तरराष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि जोड दिनुपर्छ ।”

जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण प्रभाव कार्य प्लेटफर्म केन्याका निर्देशक डा अदिति मुखर्जीले उच्चस्तरीय क्षमता विकास, प्रविधि हस्तान्तरण र समुदायलाई ऊर्जा रूपान्तरणको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । “हिन्दकुश हिमालय क्षेत्रभर जलविद्युत्सम्बन्धी उदाहरणमा नेपाल सबैभन्दा सकारात्मक र उत्कृष्ट उदाहरणमध्ये एक बनेको देखिएको छ, ग्रामीण समुदायसँग रोयल्टी साझेदारी गरिएका उदाहरण छन्, ग्रामीण समुदायले जलविद्युत्मा प्रत्यक्ष साझेदारी पाएको उदाहरण पनि छ, यी सबै न्याय सङ्गत ऊर्जा रूपान्तरणमा समुदायलाई कसरी समावेश गर्न सकिन्छ भन्ने उत्कृष्ट अभ्यासका नमुना हुन्”, उहाँले भन्नुभयो ।

अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सार्वजनिक कोष स्थापनामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “उदाहरणका लागि, सौर्य ऊर्जा बिक्रीबाट आउने नियमित आम्दानीको केही हिस्सा सार्वजनिक कोषमा राख्ने र त्यो कोषबाट समाजका विपन्न वर्गलाई सहयोग गर्नुपर्छ, उनीहरुले सुरुआतमै फाइदा लिन सक्दैनन् वा सहरमा हुने ग्रिड प्रणाली विकासबाट पछि पर्ने खतरा हुन्छ ।”

सत्रको सहजकर्तासमेत रहनुभएका एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शोभाकर ढकालका अनुसार स्वच्छ ऊर्जाको सदुपयोग भनेको सौर्य, वायु, जलविद्युत्, भू–तापीय र बायोमासजस्ता नवीकरणीय ऊर्जा स्रोतको उपयोग गरी समाजलाई ऊर्जा प्रदान गर्ने, जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र दिगो विकास हासिल गर्ने लक्ष्य राखेको एक विश्वव्यापी प्रयास रहेको बताउनुभयो । रासस