काठमाडौं । तीन वर्षभन्दा लामो समयदेखि युद्ध लडिरहेका रुस र युक्रेनबीच पहिलो पटक शान्ति वार्ता भएको छ । वार्ता सकारात्मक भएको छ ।
टर्कीएको मध्यस्थतामा इस्तानबुलमा भएको वार्ता झन्डै साते दुई घण्टा चलेको थियो । वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन् । सन् २०२२ को मार्चपछि शुक्रबार रुस र युक्रेनका अधिकारी एक आपसमा प्रत्यक्ष वार्तामा बसेर सकारात्मक समाचार सुनाएका हुन् ।
वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो । युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको थियो ।
युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको बताए । युक्रेनका रक्षा मन्त्री रुस्ताम उमेरोभले तत्काल अर्को वार्ता हुने बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचमा निकट भविष्यमा हुने वार्ताले धेरै कुरा तय गर्ने बताए ।
रुसी वार्ता टोलीको नेतृत्व गरेका पुटिनका एआइडिईले वार्ता सकारात्मक भएको तथा अर्को चरणको वार्ताका लागि प्रयास हुन सक्ने बताएका छन् ।
धेरैले रुसले वार्ताको नाटक गरेर युक्रेनका धेरै समर्थकलाई झुक्याउने काम मात्र गरेको हुन सक्ने जनाएको छ । अहिले युरोपेली १८ औँ चरणको प्रतिबन्धको तयारीमा छन् । वार्ता भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँगको वार्तामा मात्र सबै कुराको टुङ्गो लगाउन सक्ने बताएका छन् ।










