२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
अ अ+ अ-

कोरला, (मुस्ताङ) । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ ।

नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ । कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।

अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उहाँका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन । यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।

“लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट ९यस क्षेत्रमा अन्तिम पोष्ट० भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उहाँले भन्नुभयो । नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरलानाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।

“सरकारले सामान्य टेन्टको पनि व्यवस्था गरेको छैन, सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, विद्युत्को पोल भए पनि बिजुली पुगेको छैन”, उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिने थिए ।” नाकामा खानेपानी र ल्याण्डलाइन फोनको पनि सुविधा उपलब्ध नभएकाले पनि आफूहरूलाई समस्या भएको उहाँको भनाइ छ । गुरूङका अनुसार नाका सहज रूपमा सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ । “अहिले पनि चीनबाट पाँच सय डलरसम्म खर्चेर नेपाल आउन चिनियाँ पर्यटक इच्छुक छन्, तर नेपालतर्फको अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा समस्या भइरहेको छ”, अध्यक्ष गुरूङले भन्नुभयो ।

कोरलानाकामा व्यापार गर्दै आएका जिग्मे आङ्मा गुरूङका अनुसार भवन नहुँदा व्यापारी खुला चौरमा व्यापार गर्न बाध्य छन् । “अहिले पनि हामी खुला चौरमै व्यापार गरिरहेका छौँ, पानी पर्दा र हुरी चल्दा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए व्यापार गर्न सहज हुने थियो ।” उहाँजस्ता व्यापारीहरू बिहान ९:०० बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २:०० बजेसम्म फर्कने गरेका छन् ।

चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ ।

कोरलानाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ । विसं २०७२ को भूकम्पपछि तातोपानी, केरूङसँगै यो नाकाको पनि चर्चा भएको थियो । यो नाका सहज रूपमा सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने व्यापारी गुरूङको बुझाइ छ । उहाँका अनुसार व्यापार गर्ने र नाका पुगेकालाई सहज हुनेगरी आवश्यक पूर्वाधार नहुँदा धेरै समस्या हुने गरेको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ ।

कोरलानाकामा एकीकृत भन्सार कार्यालय खोल्नका लागि सरकारले एक हजार तीन सय ४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षयता सुरू गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरू भएको छैन । यद्यपि यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ ।

कोरलानाकाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीय गुनासो गर्छन् ।

यो नाका तिब्बतमा रहेको हिन्दूहरूको आस्थाको केन्द्र कैलाश र मानसरोवर जानका लागि पनि उपयुक्त मानिन्छ । लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ । त्यहाँबाट करिब छ सय किलोमिटर दूरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ । नाकाको सहज सञ्चालन हुने होभने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने स्थानीय जानकार बताउँछन् ।

पछिल्ला केही वर्षमा आन्तरिक पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । उनीहरूका लागि खानेपानी र शौचालयको पनि व्यवस्था छैन । पर्यटक त्यहाँ रहेको २४ नम्बर पिलरमा तस्बिर लिन्छन् र फर्कन्छन् । त्यहाँ पुग्नका लागि सडकको पहुँच भए पनि बस्नका लागि सुविधा नहुँदा पर्यटक केही समय घुमेर फर्कने गरेका छन् । न्हेछुङमा रहेको प्रहरीका अनुसार पर्यटक आउने समयमा दैनिक औसतमा तीन सयवटा सवारीसाधन आउने गरेका छन् ।

यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरलानाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो । जसमध्ये खानेपानी र शौचालय तथा फोहर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो ।

यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो । त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो । त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दसैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो । तर कोरोना महामारीपछि व्यापार मेला हुनसकेको छैन । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो । नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा पनि कोरलानाका सञ्चालनका विषयमा चासोपूवर्क छलफल भएको थियो ।

जोमसोमदेखि कोरलानाकासम्म एक सय १० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ । यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
धर्मेन्द्र झा/रासस