२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवधिक योजनाका आधारमा बजेट ल्याइने



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ ।

प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेट निर्माण हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताउनुभयो ।

“कृषि, पर्यटन, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रलाई बजेटले प्राथमिकताकासाथ समेट्छ”, उहाँले भन्नुभयो, “योजना आयोगले मन्त्रालयहरुलाई सोही अनुसारको सुझावसहित बजेट सिलिङ तोकेको छ ।”

प्रदेश स्रोत अनुमान समितिले आगामी आवका लागि रु. २९ अर्ब ५० करोड बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेको उक्त समितिका संयोजकसमेत रहनुभएका डा देवकोटाले जानकारी दिनुभयो । “मन्त्रालयगत रुपमा बजेटको सिलिङ तोकेर पठाएका छौँ, अर्थ मन्त्रालयलगायत अन्य विषयगत मन्त्रालय बजेट निर्माणको तयारीमा जुटेका छन्”, उहाँले भन्नुभयो, “चालु आवको भन्दा आगामी आवको बजेटको आकार घट्ने अनुमान गरिएको छ ।”

प्रदेश सरकारले चालु आवका लागि रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवमा झण्डै तीन अर्बले बजेट खुम्चने देखिएको हो । समानीकरण अनुदानमा भएको कटौती र राजस्व कम उठ्दा बजेट घट्ने भएको हो । “सङ्घ सरकारको बजेट कसरी आउँछ त्यसले पनि प्रदेशको बजेट आकारमा घटबढ हुनसक्छ,”, उपाध्यक्ष डा देवकोटाले भन्नुभयो, “गण्डकी प्रदेशको अहिलेको अवस्था हेर्दा बजेटको आकार घट्छ ।”

उहाँले प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिन खोजिएको उल्लेख गर्नुभयो । आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिजालले बजेट निर्माणको तयारी अगाडि बढेको बताउनुभयो । बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको उहाँको भनाइ छ ।

निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञहरुसँग पनि बजेट निर्माणबारे छलफल गरिएको उहाँले बताउनुभयो । आर्थिक मामिला मन्त्रालयले बिहीबारदेखि विषयगत मन्त्रालयहरुसँग छलफल गर्दैछ । बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन मन्त्रालयले बजेट पूर्वतयारी छलफल गरेको हो । प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । रासस